मेघालयको अवैध कोइलाखानीमा डाइनामाइट विस्फोट हुँदा तीन नेपालीको मृत्यु
खोटाङ — रोजगारीको खोजीमा घरबाट हजारौँ किलोमिटर टाढा पुगेका खोटाङका युवाहरू भारतको मेघालयस्थित अवैध कोइलाखानीमा भएको डाइनामाइट विस्फोटमा परेर एकपछि अर्को गर्दै ज्यान गुमाइरहेका छन्।
कमाइको सपना बोकेर गएका तीन नेपालीको मृत्यु भइसकेको छ भने अन्य केही गम्भीर घाइते जीवन र मृत्युको दोसाँधमा उपचाररत छन्। मेघालयको पूर्वी जयन्तिया हिल्स क्षेत्रमा सञ्चालन हुँदै आएको अवैध कोइलाखानीभित्र माघ २२ गते भएको शक्तिशाली विस्फोटमा गम्भीर घाइते भएका बराहपोखरी गाउँपालिका–१ सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको उपचारका क्रममा माघ २३ गते उत्तरपूर्वी इन्दिरागान्धी क्षेत्रीय स्वास्थ्य तथा चिकित्सा विज्ञान संस्थानमा मृत्यु भएको हो।
उनको शरीरको अधिकांश भाग जलेको अवस्थामा रहेको भारतीय सञ्चारमाध्यम ‘द शिलोङ टाइम्स’ ले जनाएको छ। यससँगै सो विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ। यसअघि सोही दिन भएको डाइनामाइट विस्फोटमै सालघारीका एउटै घरका दाजुभाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र २४ वर्षीय सुरेन्द्र खपाङ्गीको घटनास्थलमै मृत्यु भएको थियो।
एउटै घरका तीन सदस्यको मृत्युले परिवारमाथि अकस्मात् बज्रपात झरेजस्तै भएको छ। पूर्णबहादुरकी श्रीमती र एक वर्षकी छोरी अहिले अभिभावकविहीन बनेका छन्। विस्फोटमा परी बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन्।
उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। टोलीका अर्का सदस्य ताराबल मगर भने सकुशल रहेका छन्। घटनापछि उनले नै फोनमार्फत गाउँमा खबर पुर्याएका थिए। उनीहरू सबै रोजगारीको आशामा गत पुस ३ गते घरबाट मेघालय गएका थिए। तर वैधानिक सुरक्षा, बीमा वा श्रम सम्झौता केही नभएको अवैध खानीमा जोखिमपूर्ण काम गर्न बाध्य भएका उनीहरू अन्ततः मृत्युको सुरुङभित्रै फसे।
स्थानीय स्रोतका अनुसार दर्जनौँ कामदार अझै पनि खानीभित्रै फसेको आशंका गरिएको छ र उद्धार कार्य जारी छ। घटनाले वैदेशिक रोजगारीको नाममा नेपाली श्रमिकहरू कसरी असुरक्षित र गैरकानुनी श्रम बजारमा धकेलिएका छन् भन्ने कठोर यथार्थ फेरि उजागर गरेको छ।
