धोका दिएपछि पूर्वप्रेमिकालाई ‘तेरो रेट कति हो?’ भन्दै अश्लील म्यासेज पठाउने वीरगञ्जका सद्दामविरुद्ध मुद्दा

काठमाडौँ— प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा पर्साको वीरगन्जका २९ वर्षीय सद्दाम अलि विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) अन्तर्गत माघ २८ गते सद्दामविरुद्ध अभियोग पत्र दर्ता गरेको हो।

अभियोग पत्रका अनुसार पीडित महिला र सद्दाम अलि तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। पीडित महिला विवाहित भए पनि सम्बन्ध विच्छेदपछि एक्लै बस्दै आएकी थिइन्। केही समयअघि सद्दाम र ती महिलाको सम्वन्धमा पनि दरार आयो। त्यसपछि सद्दामले प्रतिशोध लिने उद्देश्यले सामाजिक सञ्जाल प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ।

सद्दामले ‘किङ अफ रोयल मुस्लिम’ नामक फेक टिकटक आइडी र ह्वाट्सएपमार्फत महिला विरुद्ध चरित्र हत्या गर्ने किसिमका अश्लील, अपमानजनक सन्देशहरू पठाएका थिए। उनले पीडितलाई अर्धनग्न तस्बिरसमेत पठाएर मानसिक यातना दिएको पाइएको छ। त्यस्ता सन्देशमा ‘तेरो रेट कति हो?’ र ‘१० हजार हो?’ जस्ता अमर्यादित शब्द प्रयोग गरिएको थियो। अहिले उक्त टिकटक आइडी बन्द भइसकेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले प्रारम्भिक अनुसन्धानपछि सद्दामलाई पक्राउ गरी उनको मोबाइल र अन्य इलेक्ट्रोनिक उपकरणहरू बरामद गरेको थियो। डिजिटल फरेन्सिक परीक्षणमा मोबाइलमा फेक टिकटक आइडी लग–इन भएको अवस्थामा फेला परेको थियो। मोबाइलको ग्यालरीमा पीडितको टिकटक आइडीका स्क्रिनसटहरू भेटिनु सद्दामविरुद्ध प्रमाणको रूपमा उल्लेख गरिएको छ।

अदालतमा पेश बयानमा सद्दामले आफ्नो दोष स्वीकार गरेका छन्। उनले भनेका छन्, ‘हामी सहमतिमा विवाह गर्ने कुरा गर्दै थियौं। तर उनले मसँगको सम्बन्ध तोडेर अर्कैसँग बस्न सुरु गरिन। मैले सम्झाउँदा उल्टै झगडा गरिन् र मेरो मोबाइल नम्बर ब्लक गरिन्। रिसको आवेगमा सामाजिक मैले सञ्जालमार्फत गालीगलौज गरेँ।’

सरकारी वकिलले सद्दाम विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार सार्वजनिक नैतिकता, शिष्टाचार र महिला सम्मानविरुद्धका सामग्री प्रकाशन गरेको आरोप लगाएको छ। उक्त दफा उल्लंघनमा दोषी ठहर भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

अभियोग पत्रमा सद्दामलाई हदैसम्मको सजायसहित पीडितले भोगेको मानसिक र सामाजिक क्षतिपूर्ति दिन समेत माग गरिएको छ। पीडितका वकिलले भनेका छन्, ‘सामाजिक सञ्जाललाई प्रयोग गरी चरित्र हत्या र मानसिक उत्पीडन गर्नु केवल व्यक्तिगत अपराध मात्र होइन, समाजमा महिला सुरक्षाविरुद्धको ठूलो संकेत हो। यस्तो घटनाले डिजिटल प्लेटफर्मको दुरुपयोग र कानुनी अवस्था कमजोर भएको देखाउँछ।’

यो घटना सामाजिक सञ्जालको दुरुपयोग, डिजिटल उत्पीडन तथा प्रेम र घृणाको विनाशकारी परिणामको स्पष्ट उदाहरण बनेको छ। न्याय प्रक्रिया अघि बढ्दै गर्दा यो मुद्दाले डिजिटल युगमा व्यक्तिगत अधिकार, महिला सुरक्षा र सामाजिक जिम्मेवारीबारे महत्वपूर्ण बहस सुरु गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट