ब*लात्कारको आरोपमा दुधौलीका मेयर दिनेश अधिकारी पक्राउ
सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवार बलात्कारको गम्भीर अभियोगमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार नगरप्रमुख अधिकारीविरुद्ध १८ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा कारबाही अघि बढाइएको हो। पीडितले १७ वर्षको उमेरमा आफूलाई जबरजस्ती करणी गरिएको, त्यसबाट गर्भ रहन गई सन्तान जन्मिएको दाबी गरेकी छिन्।
जाहेरीअनुसार घटना दुधौली नगरपालिकाभित्रकै एक होटलमा घटेको उल्लेख छ, जहाँ ती किशोरी कार्यरत थिइन्। प्रहरीका अनुसार पीडितले २०७१ फागुनमा शिशुलाई जन्म दिएकी थिइन्। शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको र त्यसपछि कानुनी प्रक्रिया अघि बढेको बताइएको छ।
जाहेरी परेपछि अनुसन्धान सुरु गरिएको भए पनि नगरप्रमुख केही समय सम्पर्कबाहिर रहेको प्रहरी स्रोतको भनाइ छ। मंगलबार भने उनी स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए, त्यसपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिमाथि यस्तो प्रकृतिको आरोप लाग्नुले केवल व्यक्तिगत छविमा मात्र होई, समग्र स्थानीय शासन प्रणालीमाथि पनि प्रश्न उठाएको छ। बलात्कार जस्तो गम्भीर अपराधमा अनुसन्धान भइरहेको अवस्थामा सार्वजनिक पदमा रहेका व्यक्तिको नैतिक तथा कानुनी दायित्वबारे बहस सुरु भएको छ।
प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन, स्वास्थ्य परीक्षण प्रतिवेदन, डीएनए परीक्षणको सम्भाव्यता तथा अन्य साक्ष्यका आधारमा अनुसन्धान अघि बढाइने जनाएको छ। दोष प्रमाणित भएमा कानुनअनुसार कडा कारबाही हुने प्रहरीको भनाइ छ।
