भोट माग्न जाँदा ‘राम्रो इष्ट आउँदा छोरी नदिए, खलाँसीसँग भाग्छे’ भनेपछि खगेन्द्र सुनार विवादमा

काठमाडौँ– बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनारले आफ्नो चुनावी अभियानका क्रममा दिएको अभिव्यक्तिले राजनीतिक उथलपुथल सिर्जना गरेको छ। मतदातासँग बोल्दै उनले भनेका थिए, ‘हुर्केको छोरी कसै न कसैलाई दिने हो, राम्रो इष्ट आएको बेला दिनुस्, के फरक पर्यो! राम्रो इष्ट आएका बेला नदिए, झ्यालबाट हाम्फालेर खलासीसँग भागेपछि भोलि पीर हुन्छ।’

उनको अभिप्रायः छोरी दिनोस भन्ने होईन, मत दिनोस भन्ने हो। उनले आफुलाई छोरी दिनसम्म सकिने इष्ट भन्दै योग्य उम्मेदवारका रुपमा प्रस्तुत गरेका थिए। उनको आसयमा अन्य उम्मेदवार खलासी बराबर हुन। यो अभिव्यक्तिमाथि अन्य उम्मेदवारले त खासै चासो दिएनन्, तर, महिलामाथि अपमान र श्रमिक वर्गमाथि हेपिने सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा विरोध तिव्र भएको छ।

सामाजिक सञ्जाल कार्यकर्ता सन्तोष भट्टराईले प्रश्न उठाएका छन्, ‘महिला तथा मजदुरमाथि घण्टी पार्टीको हेयभाव किन यति खुला रूपले प्रकट हुन्छ?’ राजा राईले भने रास्वपाको एजेण्डा नै गरिब र श्रमिकलाई मान्छे होइन भन्ने शैलीको हो कि भनी चिन्ता व्यक्त गरेका छन्।

स्थानीय नेताहरूले पनि यस अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएर आलोचना गरेका छन्। ओमबिठा मगरले भनेका छन्, ‘खलासीले बिहे नगरी बस्ने? गरिखानेलाई हेप्नेले विकास गर्ने भन्ने सोच त पक्कै होइन। सबै मजदुरले यसलाई भोट नहालौं।’ विमला खनाल कोइरालाले मतदातालाई चेतावनी दिँदै भनेकी छन्, ‘अरुलाई भोट दिन सकिन्छ, तर रास्वपालाई भने नगर्नु। खलासी मान्छे होइन भन्ने सोच कुन आधारमा ?’

यो विवाद सुनारका विगतका अभिव्यक्तिसँग मेल खान्छ। केही समयअघि उनले राष्ट्रिय जनावर गाई काटेर खानुपर्ने कुरा सार्वजनिक गरेका थिए, जुन विरोधका कारण उनले पछि आफूले त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरेका थिए।

विशेषज्ञ र नागरिक समाजले यो घटना चुनावी नैतिकता र सामाजिक उत्तरदायित्वको परीक्षणको रुपमा हेरेका छन्। महिला र मजदुरमाथि यस्तो हेप्ने भाषणले मतदाताको विश्वास घटाउने र उम्मेदवारको राजनीतिक चरित्रमाथि प्रश्न उठाउने खतरा बढेको उनिहरुको भनाई छ।

स्थानीय समाजसेवी र दलित अधिकारकर्मीहरूले पनि व्यवहार र विचारधाराले मतदातालाई प्रभावित गर्नुपर्नेमा उनिहरुकै मान मर्दन असह्य हुने बताएका छन्। यदि उम्मेदवारले सार्वजनिक अभिव्यक्तिमा समानता, सम्मान र उत्तरदायित्व देखाउन नसके, उनको चुनावी सफलतामा त्यसको प्रभाव अपरिहार्य हुनेछ।

खगेन्द्र सुनारको विवादास्पद अभिव्यक्तिले अब बाँके–३ मा महिला र श्रमिक वर्गका मतदातामा व्यापक बहस र ध्यानाकर्षण सिर्जना गरेको छ। यसले राजनीतिक दल र उम्मेदवारका भाषण, व्यवहार र नैतिकता बीचको अन्तरलाई उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट