प्रतिस्पर्धीलाई समाप्त गरेर सरकारी जागिर कब्जा गर्ने वैकल्पिक उम्मेदवारको षड्यन्त्रले सिरहाका सब–इन्जिनियरको हत्या

जनकपुर — सर्लाही सदरमुकाम मलंगवामा भएको सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या प्रकरणले सरकारी जागिरको प्रतिस्पर्धा नै घातक षड्यन्त्रमा परिणत हुनसक्ने भयावह यथार्थ उजागर गरेको छ।

प्रहरी अनुसन्धानले प्रारम्भिक रूपमा देखाएको तथ्यअनुसार यो हत्या आकस्मिक घटना नभई योजनाबद्ध रूपमा गरिएको अपराध हो, जसको जरो लोकसेवा आयोगको प्रतिस्पर्धासँग जोडिएको देखिएको छ।

सिरहाको सुखीपुर नगरपालिका–३ वैशाखा घर भएका प्रमोदकुमार यादव मलंगवामा डेरा गरेर बस्दै आएका थिए र पूर्वाधार विकास कार्यालयसँग सम्बन्धित प्राविधिक जिम्मेवारी सम्हालिरहेका थिए।

गत फागुन ३ गते साँझ उनलाई फोन गरेर डेराबाट बाहिर बोलाइ नजिकैबाट गोली प्रहार गरिएको थियो। यादव कम्पाउण्डमा निस्कने बित्तिकै छातीमा गोली लागेर ढलेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल अस्पताल पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना घटेको केही घण्टामै मलंगवा र आसपासका क्षेत्रमा त्रास फैलिएको थियो, किनकि सरकारी कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई लक्षित गरी यसरी हत्या गरिएको घटना दुर्लभ मात्र होइन, अत्यन्त संवेदनशील मानियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख सरोज राईका अनुसार अनुसन्धानले हत्या योजनाबद्ध ढंगले गरिएको स्पष्ट संकेत दिएको छ। प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतोले यादवलाई हटाएर आफ्नो लागि जागिर सुरक्षित गर्ने उद्देश्यले हत्या योजना बनाएको देखिएको छ।

वैकल्पिक सूचीमा रहेका महतोले प्रतिस्पर्धीलाई हटाउने सोचसहित षड्यन्त्र रचेको आशंका प्रहरीले अघि सारेको छ। घटनापछि प्रहरीले व्यापक अनुसन्धान सुरु गर्दै सीमाक्षेत्रसम्म खोजी अभियान विस्तार गरेको थियो।

सोही क्रममा गणेश महतो नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ परेका हुन्। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महतोसहित चन्द्रकिशोर सिंह कुशवाहा र विजयकुमार महतोलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार मोटरसाइकलमा आएका व्यक्तिहरूले योजनाबद्ध रूपमा फोन गरेर यादवलाई बाहिर बोलाएका थिए र कम्पाउण्डमा निस्कने बित्तिकै नजिकबाट गोली प्रहार गरेका थिए।

आक्रमणपछि उनीहरू तत्काल फरार भएका थिए, जसले घटनाको पूर्वयोजना र संगठित स्वरूपलाई झन् स्पष्ट बनाएको छ। यादव आफ्नी श्रीमती र एक छोरीसहित करिब एक वर्षदेखि मलंगवामा बस्दै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट