भारतीय मिडियामा ‘खुसीको खबर’ भन्दै बालेनको उम्मेदवारीको चर्चाः झापामा चीनको बीआरआई परियोजना रोक्ने षडयन्त्रको संकेत
राजविराज– नेपालको राष्ट्रिय राजनीति चुनावी ताप्केमा तातिरहेका बेला दक्षिण एसियाली शक्ति सन्तुलनसम्बन्धी बहस पनि समानान्तर रूपमा तीव्र बन्दै गएको छ। बेलायतको सञ्चार माद्यम बीबीसीमा प्रकाशित भएको ‘शट लाइक एनिमिजः नेपाल्स जेन जी अपराइजिङ’ शीर्षकको डकुमेण्ट्री र भारतीय सञ्चारमाध्यम नवभारत टाइम्समा प्रकाशित एक समाचारले यो बहसलाई थप चर्काएको छ।
भारतीय मिडियाको रिपोर्टमा नेपालबाट भारतका लागि ‘खुसीको खबर’ आएको दाबी गर्दै, झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) उम्मेदवार बनेपछि चीनको महत्वाकांक्षी बीआरआई परियोजनामाथि दबाब बढ्ने संकेत गरिएको छ।
भारतीय मिडियाले विशेष रूपमा उल्लेख गरेको विषय भनेको बालेन साहले आफ्नो चुनावी घोषणापत्रमा झापास्थित नेपाल–चीन फ्रेन्डशिप इन्डस्ट्रियल पार्कलाई समावेश नगर्नु हो, जसलाई चिनियाँ राष्ट्रपति शी जिनपिङको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआएरआई) अन्तर्गतको महत्वपूर्ण परियोजना मानिन्छ।
नेपालमा आगामी ५ मार्च (२१ फागुन) मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर देशभित्र मात्र होइन, छिमेकी मुलुकहरूमा समेत चासो असामान्य रूपमा बढेको देखिन्छ। विशेषतः झापा–५ निर्वाचन क्षेत्र यसपटक कूटनीतिक, आर्थिक र रणनीतिक बहसको केन्द्रमा पुगेको छ, किनकि यही क्षेत्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक आधारभूमि हो र यही क्षेत्रमा चीनसँग सम्बन्धित बहुचर्चित औद्योगिक परियोजना निर्माण गर्ने योजना अघि बढाइएको थियो।
फेब्रुअरी २०२१ मा ओली नेतृत्वको सरकारले यस मेगा परियोजनाको शिलान्यास गरेको थियो, जसलाई नेपाल–चीन मित्रताको प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो। तर चुनाव नजिकिँदै गर्दा बालेन साहले आफ्नो प्रतिबद्धता पत्रबाट उक्त परियोजनालाई हटाएपछि यो विषय अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषणको विषय बनेको छ।
भारतीय मिडियाले यसलाई केवल चुनावी रणनीति मात्र नभई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर व्याख्या गरेको छ। विशेषगरी नेपाल–भारत सीमासँग नजिक पर्ने झापाको कमल, दमक र गौरादह क्षेत्रमा प्रस्तावित औद्योगिक पार्क भारतका लागि संवेदनशील मानिने सिलीगुडी करिडोर नजिक पर्छ, जसलाई भारतको ‘चिकेन नेक’ भनिन्छ।
यो साँघुरो भूभाग भारतका पूर्वोत्तर राज्यहरूलाई मुख्य भूभागसँग जोड्ने रणनीतिक मार्ग भएकाले त्यहाँ चीनसँग सम्बन्धित कुनै ठूलो परियोजना निर्माण हुने विषय भारतका सुरक्षा विश्लेषकहरूको दृष्टिमा अत्यन्तै संवेदनशील ठानिन्छ। यही कारणले पनि भारतीय सञ्चारमाध्यमहरूले बालेनको उम्मेदवारी र घोषणापत्रको निर्णयलाई नयाँ संकेतका रूपमा व्याख्या गरेका छन्।
उक्त समाचारमा उल्लेख गरिएअनुसार बालेन झापा–५ मा उम्मेदवार बनेपछि नेपालभित्र मात्र होइन, भारतमा पनि चुनावी समीकरणबारे चासो बढेको छ। भारतीय विश्लेषकहरूले यदि उनी विजयी भए भने चीनसँग सम्बन्धित केही परियोजनाहरू अबरुद्ध हुन सक्ने वा पुनर्मूल्याङ्कन हुन सक्ने आकलन गरेका छन्।
यसले नेपालको आन्तरिक चुनावी प्रतिस्पर्धालाई अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिकोणबाट समेत हेर्ने प्रवृत्ति बलियो भएको संकेत दिएको छ। तर नेपालभित्र भने यस विषयमा फरक–फरक धारणा देखिएका छन्। केही राजनीतिक वृत्तले बालेनले घोषणापत्रबाट परियोजना हटाउनु स्वाभाविक चुनावी प्राथमिकता मात्र भएको तर्क गरेका छन् भने अर्कोतर्फ, परियोजनासँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूले यसलाई विदेशी प्रभावको परिणामका रूपमा व्याख्या गरेका छन्।
इन्डस्ट्रियल पार्क परियोजनाका अध्यक्ष गोविन्द थापाले सार्वजनिक रूपमा दिएको प्रतिक्रिया अनुसार झापाको कमल, दमक र गौरादहको विस्तृत क्षेत्रमा निर्माण गर्ने भनिएको चीन–नेपाल फ्रेन्डशिप इन्डस्ट्रियल पार्क निर्माणमा ढिलाइ हुनुको कारण नेपालभित्रको समस्या नभई विदेशी अवरोध रहेको आरोप लगाइएको छ।
उनले कूटनीतिक संवेदनशीलताका कारण अहिलेसम्म खुलेर बोल्न नसकेको उल्लेख गर्दै अब भने सत्य सार्वजनिक गर्न बाध्य भएको बताएका छन्। थापाको भनाइ अनुसार चिनियाँ लगानी नेपालमा भित्रिनु स्वाभाविक आर्थिक प्रक्रिया हो र यसको उद्देश्य उद्योग, उत्पादन र रोजगारी विस्तार गर्नु हो, न कि सैन्य गतिविधि।
तर उनले कसैको नाम नलिए पनि बाह्य शक्तिहरूले परियोजनालाई रोक्न खोजिरहेको संकेत गरेका छन्। उनले बालेनको घोषणापत्रमा उक्त परियोजनाको उल्लेख नहुनु संयोग मात्र नभई नेपालमा चिनियाँ लगानी रोक्ने अभियानसँग जोडिएको हुनसक्ने दाबीसमेत गरेका छन्।
यसबीच नेपाल सरकारभित्र पनि यस परियोजनाबारे सावधानी अपनाउनुपर्ने मत यसअघि सार्वजनिक भइसकेको थियो। पूर्व अर्थ तथा परराष्ट्र मन्त्री प्रकाश शरण महतले गत वर्ष एक अन्तर्वार्तामा भारतको सुरक्षा संवेदनशीलतालाई ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए। उनका अनुसार दक्षिण एसियामा पछिल्ला विकासक्रमपछि भारत आफ्नो सीमाक्षेत्र नजिक हुने गतिविधिप्रति झनै सतर्क बनेको छ।
उनले औपचारिक रूपमा भारतले आपत्ति जनाएको नदेखिए पनि त्यस्तो सम्भावना रहेको र नेपालले आफ्नो निर्णय गर्दा क्षेत्रीय सन्तुलनलाई पनि विचार गर्नुपर्ने बताएका थिए। यसरी नेपालको एक निर्वाचन क्षेत्रबाट सुरु भएको राजनीतिक प्रतिस्पर्धा अहिले क्षेत्रीय शक्ति सन्तुलन, कूटनीतिक रणनीति र आर्थिक हितसँग जोडिएको बहसमा रूपान्तरण भएको छ।
भारतीय सञ्चारमाध्यमहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको हार र बालेनको जित हुनु ‘भारतका लागि सकारात्मक संकेत’ भन्दै प्रस्तुत गरे पनि नेपालभित्र भने यसले नयाँ प्रश्न जन्माएको छ। ‘के यो केवल चुनावी रणनीति हो, कि नेपालमा चीन, भारत र आन्तरिक राजनीतिक शक्ति सन्तुलनबीचको ठूलो खेलको संकेत?’
यतिबेला यही प्रश्नले राजनीतिक वृत्त, कूटनीतिक क्षेत्र र मिडिया विश्लेषणमा तीव्र बहस सिर्जना गरिरहेको छ। झापा–५ को चुनाव परिणामले केवल एक संसदीय क्षेत्रको प्रतिनिधि मात्र तय गर्ने छैन, सम्भवतः नेपालको विकास मार्ग, विदेशी लगानीको दिशा र क्षेत्रीय शक्ति समीकरणसम्बन्धी बहसलाई पनि नयाँ मोड दिने संकेत देखिएको छ।
लोकप्रिय
ताजा अपडेट
भारतीय मिडियामा ‘खुसीको खबर’ भन्दै बालेनको उम्मेदवारीको चर्चाः झापामा चीनको बीआरआई परियोजना रोक्ने षडयन्त्रको संकेत
