प्रेम सम्बन्धमा परिवार ‘भिलेन’ बन्दा धनुषामा १८ वर्षीय किशोरको घाँटी रेटी हत्या, प्रेमिकासहित तीन पक्राउ
जनकपुर— प्रेम सम्बन्धमा परिवार भिलेन बन्दा धनुषाको हंसपुर नगरपालिका–९ रुदौलीका १८ वर्षीय किशोर सुमित मण्डलको घाँटी रेटी हत्या गरिएको घटना सार्वजनिक भएको छ। प्रहरीले मृतककी प्रेमिका र उनका आफन्तसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फागुन १३ गते साँझ सुमित मण्डल आफ्नी प्रेमिका काजल मण्डललाई भेट्न उनको घर पुगेका थिए। घरमा अन्य सदस्य नभएको समय पारेर उनी त्यहाँ पुगेका थिए। तर, सोही क्रममा काजलका काका घरमा आइपुगेपछि घटनाले अप्रत्याशित मोड लिएको थियो।
अचानक भेटिएको अवस्थाले आक्रोशित बनेका काकाले तत्कालै आफ्ना भतिज दीपेश मण्डललाई बोलाए र त्यसपछि दुवै जना मिलेर सुमितमाथि निर्घात कुटपिट गरे। कुटपिटपछि सुमितलाई नियन्त्रणमा लिएर उनको हात पछाडि बाँधिएको थियो।
त्यसपछि परमेश्वर मण्डलको मोटरसाइकल प्रयोग गरी उनलाई औरही गाउँपालिका–६ चक्कर क्षेत्रको एकान्त खेतमा लगिएको थियो। त्यहाँ पुगेपछि दीपेश मण्डलले आफूसँग रहेको धारिलो हतियार ‘दाउ’ प्रयोग गरी सुमितको घाँटीमा पटक–पटक प्रहार गरेका थिए। लगातारको प्रहारपछि घटनास्थलमै सुमितको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनापछि शव लुकाउने प्रयास गरिएको भए पनि फागुन १४ गते दिउँसो सडकबाट करिब ३०० मिटर टाढा रहेको खेतमा सुमितको शव फेला परेको थियो। शव भेटिएसँगै प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा २९ वर्षीय परमेश्वर मण्डल, २० वर्षीय दीपेश मण्डल र १८ वर्षीया काजल मण्डललाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनास्थल तथा अनुसन्धानका क्रममा हत्यामा प्रयोग गरिएको धारिलो हतियार ‘दाउ’ र शव ब्यवस्थापनमा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ र घटनाको सम्पूर्ण पृष्ठभूमि, योजना तथा सम्भावित अन्य संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
लोकप्रिय
बीबीसीको डुकुमेण्ट्रीप्रति पूर्वआईजीपी खापुङको आक्रोशः डकुमेन्ट्रीको आडमा आन्तरिकम मामलामा विदेशी हस्तक्षेप
भारतीय मिडियामा ‘खुसीको खबर’ भन्दै बालेनको उम्मेदवारीको चर्चाः झापामा चीनको बीआरआई परियोजना रोक्ने षडयन्त्रको संकेत
ताजा अपडेट
गुरुराज घिमिरेको चुनावी अभियानमा ‘गुन्डानाइके’को छायाँः ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ को नारामाथि प्रश्न
