‘सुधन गुरुङ गर्लफ्रेण्डसहित बसेको रिसोर्टमा प्रहरी छापाः सिसिटिभी सिस्टम जफत’ शीर्षकको समाचार सम्बन्धमा खण्डन
शीर्ष खबर डट कममा २०८३ जेठ ६ गते प्रकाशित ‘सुधन गुरुङ गर्लफ्रेण्डसहित बसेको रिसोर्टमा प्रहरी छापाः सिसिटिभी सिस्टम जफत’ शीर्षकको समाचारप्रति प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री सुधन गुरुङले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन्।
उनले २०८३ जेठ ७ गते प्रेस काउन्सिल नेपालमा दर्ता गराएको उजुरीमा समाचारमा प्रयोग गरिएको शीर्षक, भाषा तथा प्रस्तुतीकरणले आफ्नो व्यक्तिगत जीवन, गोपनीयता, चरित्र, सामाजिक प्रतिष्ठा तथा सार्वजनिक छविमा नकारात्मक असर पारेको दाबी गरको छन्।
उजुरीमा भोटेकोशी हेली रिसोर्टमा आफू पुगेको भनिएको विषय र प्रहरीले उक्त रिसोर्टमा गरेको अनुसन्धान तथा त्यहाँबाट कर्मचारीको मोबाइल फोन वा सिसिटिभी उपकरण नियन्त्रणमा लिएको विषयबीच प्रत्यक्ष सम्बन्ध नरहेको उल्लेख गरिएको छ। चोरीसम्बन्धी घटनाको अनुसन्धानका क्रममा प्रहरीले गरेको कारबाहीलाई आफूसँग जोडेर नियोजित रूपमा समाचार सम्प्रेषण गरिएको, त्यसबाट आफूविरुद्ध नकारात्मक धारणा निर्माण गर्ने तथा चरित्रहत्या गर्ने प्रयास भएको उनको दाबी छ।
उनले आफ्नो व्यक्तिगत वा पारिवारिक भ्रमणलाई सार्वजनिक चासोको विषय बनाएर ‘गर्लफ्रेण्ड’ जस्ता शब्द प्रयोग गरिएकोमा समेत आपत्ति जनाएका छन्। उक्त सामग्रीले नेपालको संविधानद्वारा प्रत्याभूत गोपनीयताको हक, व्यक्तिगत गोपनीयता सम्बन्धी कानुनी व्यवस्था तथा पत्रकारिताका आधारभूत मूल्य–मान्यताविपरीत कार्य गरेको उनको जिकिर छ।
यस सम्बन्धमा प्रेस काउन्सिल नेपालले २०८३ जेठ ८ गते शीर्ष खबर डट कमलाई पत्राचार गर्दै समाचारमा उठाइएका विषयबारे स्पष्टीकरण माग गरेको छ। काउन्सिलले आफ्नो पत्रमा समाचारमा फरक विषय र सन्दर्भलाई जोडेर व्यक्तिको गोपनीयताको हक प्रभावित हुनेगरी तथ्यगत परीक्षण तथा पुष्ट्याइँबिना सामग्री सम्प्रेषण भएको भन्ने उजुरी परेको उल्लेख गरेको छ।
पत्रमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) का सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण, व्यक्तिको गोपनीयताको सम्मान, चरित्रहत्या हुनेगरी सामग्री प्रकाशन नगर्ने तथा प्रभावित पक्षको प्रतिक्रिया वा खण्डनलाई स्थान दिनुपर्ने व्यवस्थासमेत स्मरण गराइएको छ।
प्रेस काउन्सिल नेपालले उजुरीमा उल्लिखित विवरणलाई प्रतिक्रियाका रूपमा लिई खण्डन प्रकाशित गर्न तथा समाचारसँग सम्बन्धित तथ्य, प्रमाण र आधारसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। साथै, पत्रकार आचारसंहिताको दफा ५(८) अनुसार असावधानीवश प्रकाशित भई गम्भीर क्षति पु¥याउन सक्ने सामग्रीको हकमा आवश्यक पुनरावलोकन तथा स्थगनको विषयमा समेत ध्यानाकर्षण गराएको छ।
शीर्ष खबर डट कम प्रेस काउन्सिल नेपालको पत्र र उजुरीकर्ताले उठाएका विषयप्रति सम्मान व्यक्त गर्दछ। सञ्चारमाध्यमको दायित्व सत्य, तथ्य र सार्वजनिक सरोकारका विषय सम्प्रेषण गर्नुका साथै प्रभावित पक्षको प्रतिक्रिया र असहमतिलाई समेत उचित स्थान दिनु हो भन्ने मान्यतामा हामी प्रतिबद्ध छौं।
यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले प्रेस काउन्सिल नेपालमा पेश गरेएको उजुरी तथा त्यसमा उल्लिखित धारणा पाठकसमक्ष जानकारीका लागि प्रकाशित गरिएको छ। साथै, प्रेस काउन्सिल नेपालले माग गरेको स्पष्टीकरण सम्बन्धित निकायमा नियमानुसार पेश गरिने जानकारी गराइन्छ।
– सम्पादक
शीर्ष खबर डट कम
