झापामा सामान्य भनाभनमा हानाहान हुँदा ५५ वर्षीय पुरुषको मृत्यु, एक पक्राउ
दमक– सामान्य भनाभनबाट सुरु भएको विवादले झापाको मेचीनगरमा एक व्यक्तिको ज्यान गएको छ। ज्यामिरगढी क्षेत्रमा शनिबार राति भएको कुटपिट घटनामा गम्भीर घाइते भएका मेचीनगर नगरपालिका–१५ निलकोठीका ५५ वर्षीय रुद्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। घट्नामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार राति करिब १० बजे ज्यामिरगढी क्षेत्रमा श्रेष्ठ र झापा प्लाई उद्योगमा ज्याला मजदुरी गर्दै आएका दमौली घर बताउने अन्दाजी ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य विवाद भएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद केही समयमै कुटपिटमा परिणत भएको थियो। सो क्रममा श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो। चोटपटकका कारण उनी घटनास्थलमै अचेतजस्तै अवस्थामा पुगेका थिए भने बोल्नसमेत नसक्ने अवस्थामा रहेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी चौकी ज्यामिरगढीको टोलीले श्रेष्ठलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा गौतमलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रहरी स्रोतका अनुसार घटनाको वास्तविक कारण, कुटपिटको प्रकृति तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको छ। मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ।
