मधेशकी बुहारी राष्ट्रिय मञ्चमाः ‘द मिसेस नेशनल’को ताज जितेर चम्किइन् सप्तरीकी पूजा साह
राजविराज– विवाहपछि महिलाको संसार घरधन्दामै सीमित हुन्छ, सपना र पहिचान ओझेलमा पर्छ भन्ने पुरानो सोचलाई चुनौती दिँदै सप्तरीकी २८ वर्षीया पूजा साहले राष्ट्रिय मञ्चमा नयाँ इतिहास रचेकी छिन्।
एकातिर पाँच वर्षका छोराकी आमा, अर्कोतिर अध्ययन र व्यवसायलाईसँगै अघि बढाइरहेकी पूजा अहिले ‘द मिसेस नेशनल’को उपाधि जितेर चर्चाको केन्द्रमा पुगेकी छिन्। विवाहित महिलाहरूको क्षमता, प्रतिभा र व्यक्तित्वलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उनले जितेको उपाधि केवल व्यक्तिगत सफलता मात्र नभई मधेशका हजारौं महिलाका लागि प्रेरणाको सन्देश बनेको छ।
शनिबार काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘द मिसेस नेशनल’को भव्य फिनालेमा पूजा साहले शीर्ष उपाधि जितेकी हुन्। क्रिजोना मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका विवाहित महिलाहरूबीच प्रतिस्पर्धा भएको थियो।
सिरहाको सिरहा बजार माइती भएकी पूजा हाल सप्तरीको डाकनेश्वरी नगरपालिका–८, गमरिया प्रवाहकी बासिन्दा हुन्। उनी काठमाडौँको सिनामंगलमा बस्दै बीबीएस अध्ययन गरिरहेकी छिन्। अध्ययनसँगै उनले व्यवसायिक क्षेत्रलाई पनि अघि बढाएकी छन्। सिनामंगलमै उनको खाद्यान्नको होलसेल व्यवसाय सञ्चालनमा छ।
सात वर्षअघि धिरेन्द्र साहसँग विवाह गरेकी पूजाको पाँच वर्षका एक छोरा छन्। पारिवारिक जिम्मेवारी, अध्ययन र व्यवसायबीच सन्तुलन मिलाउँदै राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी हुनु र अन्ततः उपाधि जित्नु उनको संघर्ष र आत्मविश्वासको प्रतिफलका रूपमा हेरिएको छ।
पूजालाई प्रतियोगितामा सहभागी गराउन उनका श्रीमान् धिरेन्द्र साहको विशेष भूमिका छ। काठमाडौँमै ग्लोबल आईएमई बैंकमा कार्यरत धिरेन्द्रले पत्नीलाई निरन्तर हौसला, प्रेरणा र साथ दिएका थिए। उनी भन्छन्, ‘मधेशकी एक महिलाले आत्मविश्वासका साथ यो उपाधि जित्नु मेरो लागि गर्वको विषय हो। श्रीमती भएकै कारण होइन, शिक्षा, स्वास्थ्य र अवसरका हिसाबले अझै पछाडि परेको मधेशबाट प्रतिनिधित्व गर्दै यो स्थानमा पुग्नु ठूलो उपलब्धि हो।’
उनका अनुसार पूजाको सफलता व्यक्तिगत सीमाभन्दा माथि उठेर समग्र मधेशका छोरी–बुहारीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ। उनले महिलाले चाहे परिवार र करिअर दुवैलाई सफलतापूर्वक अघि बढाउन सक्ने सन्देश यो उपलब्धिले दिएको बताए।
प्रतियोगितामा लक्ष्मी बोहोरा ‘द मिसेस नेशनल प्लेटिना’ तथा अप्सरा सुवेदी ‘द मिसेस नेशनल क्लासिक’ घोषित भए। त्यसैगरी जानकी देवीले ‘भ्यूअर्स च्वाइस अवार्ड’ र निरु हाङ्सारुम्बा लिम्बुले ‘मोस्ट पपुलर अवार्ड’ जितेका छन्।
विभिन्न विशेष विधामा पनि प्रतियोगीहरूलाई सम्मान गरिएको थियो। सुष्मा केसी ‘मोस्ट कन्फिडेन्ट’, पवित्रा फुयाँल ‘मोस्ट इन्स्पिरेसनल’, शान्ति शाही ‘मोस्ट करेजियस’ तथा श्रद्धा श्रेष्ठ बोहोरा ‘मोस्ट क्रिएटिभ’ घोषित भए।
त्यसैगरी किसु सुनारले ‘वेस्ट पर्सनालिटी’, भवानी जिरेलले ‘मोस्ट फ्रेन्ड्ली’ तथा बिना लिम्बुले ‘मोस्ट ट्यालेन्टेड एन्ड वेस्ट वाक’ उपाधि प्राप्त गरिन्। नीतु मिश्र ‘मोस्ट इन्करेजिङ’, अप्सरा सुवेदी ‘मोस्ट फोटोजेनिक’, निरु हाङ्सारुम्बा लिम्बु ‘वेस्ट पब्लिक स्पिकर’, जानकी देवी ‘मोस्ट एलिगेन्ट’, पूजा साह ‘मोस्ट डिसिप्लिन्ड’, लक्ष्मी पाख्रिन ‘मोस्ट ग्रेसफुल’ तथा लक्ष्मी बोहोरा ‘वेस्ट फिगर अवार्ड’बाट सम्मानित भएका थिए।
विवाहित महिलाहरूलाई केवल गृहिणीको भूमिकामा सीमित गरेर हेर्ने सामाजिक दृष्टिकोण अझै बलियो रहेको अवस्थामा ‘द मिसेस नेशनल’ जस्ता प्रतियोगिताले महिलाको प्रतिभा, नेतृत्व क्षमता, आत्मविश्वास र व्यक्तित्वलाई उजागर गर्ने अवसर प्रदान गरिरहेका छन्। पूजा साहको सफलता त्यसैको एउटा उदाहरण बनेको छ, जसले विवाह र मातृत्व महिलाको यात्राको अन्त्य नभई नयाँ सम्भावनाको सुरुवात पनि हुन सक्छ भन्ने सन्देश दिएको छ।
