बीच सडकमा महिलालाई गोप्य अंग देखाउने सरकारी कर्मचारी को हुन ?
काठमाडौँ– ललितपुरको इमाडोलस्थित सडकमा केही दिनअघि बाटो हिँडिरहेकी एक युवतीको अगाडि गोप्य अंग देखाउँदै अश्लील हर्कत गर्ने एक सरकारी अधिकृतले पक्राउ परेका छन्।
घटनामा संलग्न व्यक्ति सरकारको महत्वपूर्ण निकायमध्ये एक रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृत रहेको खुलेको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्ति बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिकाअन्तर्गत महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट हुन।
प्रहरीका अनुसार भट्टले इमाडोलस्थित सार्वजनिक सडकमा हिँडिरहेकी एक युवतीसमक्ष आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेका थिए। घटनाको शिकार बनेकी युवतीले तत्काल मोबाइल फोनमार्फत दृश्य रेकर्ड गरिन् र प्रत्यक्ष प्रतिवादमा उत्रिइन्। सार्वजनिक भएको भिडियोमा युवतीले ति व्यक्तिलाई भाग्न नदिन स्थानीयको सहयोग मागेको देखिन्छ। भिडियोमा एक वृद्ध व्यक्तिले उनलाई नियन्त्रणमा लिएको दृश्य पनि देखिन्छ।
त्यसपछि घटनास्थलमै युवतीले उनको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै माफी माग्न बाध्य पारेकी थिइन्। सार्वजनिक भिडियोमा ती व्यक्तिले हात जोडेर क्षमा मागेको, कान समातेर उठबस गरेको तथा युवतीको खुट्टा छोएर माफी मागेको दृश्य देखिन्छ। त्यसपछि उनी त्यहाँबाट निस्किएका थिए।
तर घटनाको प्रभाव त्यतिमै सीमित रहेन। युवतीले उक्त भिडियो सामाजिक सञ्जाल, विशेषगरी टिकटकमार्फत सार्वजनिक गरेपछि घटना तीव्र रूपमा फैलियो। भिडियो भाइरल भएसँगै प्रहरी वृत्त सातदोबाटोले घटनाबारे अनुसन्धान सुरु गरेको थियो। भिडियोमा देखिएका व्यक्तिको पहिचान गरी प्रहरीले उनलाई नियन्त्रणमा लियो।
ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोका अनुसार पक्राउ परेका भट्टलाई हिरासतमा राखेर मुलुकी अपराध संहिताअनुसार कानुनी प्रक्रिया अघि बढाइएको छ। उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्ता प्रकारका आरोप लागेपछि सरकारी निकायभित्र आचरण, नैतिकता र जवाफदेहितासम्बन्धी प्रश्नहरू पनि उठ्न थालेका छन्।
घटनापछि पीडित युवतीले सामाजिक सञ्जालमा विस्तृत धारणा सार्वजनिक गर्दै आफूले लगाएको पोशाक वा व्यक्तिगत व्यवहारलाई घटनाको कारण बनाउन नहुने स्पष्ट सन्देश दिएकी छन्। उनले लेखेकी छिन्, ‘म एक्लै हिँडिरहेकी थिएँ। मैले शरीर देखिने वा छोटो लुगा लगाएकी थिइनँ, केवल पाइन्ट र टी–सर्ट लगाएकी थिएँ। तैपनि एक व्यक्तिले बाटोको बीचमै मेरो अगाडि लुगा खोलेर गोप्य अङ्ग प्रदर्शन ग¥यो।’
उनले यो घटनालाई कुनै ठट्टा वा सामान्य व्यवहार नभई स्पष्ट रूपमा ‘यौन दुव्र्यवहार’ भएको उल्लेख गरेकी छिन्। ‘मेरो लुगा कहिल्यै समस्या थिएन, समस्या ती मानिसहरूको मानसिकता हो जसले सजाय नपाई अरूमाथि दुव्र्यवहार गर्न सकिन्छ भन्ने ठान्छन्,’ उनले लेखेकी छिन्।
युवतीको भनाइले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ। धेरै प्रयोगकर्ताले उनको साहसको प्रशंसा गरेका छन् भने सार्वजनिक स्थलमा महिलाले भोग्ने यौनजन्य उत्पीडनबारे पुनः बहस सुरु भएको छ।
नेपालमा सार्वजनिक स्थलमा हुने यौन दुव्र्यवहारका धेरै घटनाहरू प्रहरीसम्म पुग्दैनन्। सामाजिक बदनामीको डर, झन्झटिलो प्रक्रिया, प्रमाण अभाव वा परिवारको दबाबका कारण धेरै पीडित मौन बस्ने गरेका छन्। तर इमाडोलको यो घटनामा पीडितले तत्काल प्रतिरोध गर्दै प्रमाण संकलन गरिन्, सार्वजनिक गरिन् र कानुनी प्रक्रियासम्म विषयलाई पु¥याइन्। यही कारण यो घटना केवल एक व्यक्तिको गिरफ्तारीमा सीमित नभई सार्वजनिक चेतना र प्रतिरोधको उदाहरणका रूपमा पनि चर्चा भइरहेको छ।
घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ—सार्वजनिक पदमा रहेका व्यक्तिहरूको निजी आचरण कति हदसम्म सार्वजनिक विश्वाससँग जोडिन्छ? रक्षा मन्त्रालयजस्तो संवेदनशील सरकारी निकायमा कार्यरत अधिकृतमाथि यौन दुव्र्यवहारसम्बन्धी आरोप लाग्नुले राज्य संयन्त्रभित्रको नैतिक उत्तरदायित्वबारे पनि बहस सिर्जना गरेको छ।
हाल सुरेन्द्र भट्ट प्रहरी हिरासतमा छन्। उनीविरुद्धको आरोपबारे कानुनी अनुसन्धान जारी छ। अनुसन्धानको निष्कर्ष अदालतको प्रक्रियाबाट स्थापित हुन बाँकी रहे पनि इमाडोलको त्यो सडकमा भएको घटनाले एक कुरा भने स्पष्ट पारेको छ— सार्वजनिक स्थलमा हुने यौनजन्य दुव्र्यवहारविरुद्ध प्रतिवाद गर्ने आवाज अब पहिलेभन्दा धेरै बलियो बन्दै गएको छ।

