भ्यूजको भोकले खोस्यो १३ वर्षीया सरियाको जीवन, सामाजिक सञ्जालका ‘नैतिक प्रहरी’को शिकार बनिन् बालिका

जनकपुर— बाराको कलैया उपमहानगरपालिका–२१ भौडाहास्थित एउटा गाउँको चौरमा घटेको घटना त्यहीँ सकिन सक्थ्यो। केही किशोर–युवाले देखेको, केहीले सुनेको र केही दिनमा बिर्सिने गाउँको सामानय प्रसंग बन्न सक्थ्यो। तर डिजिटल युगमा त्यो सम्भव भएन। मोबाइलको क्यामेराले एउटा क्षण कैद ग¥यो, सामाजिक सञ्जालले त्यसलाई हजारौँ आँखासम्म पु¥यायो, र अन्ततः त्यो भिडियो एक १३ वर्षीया बालिकाको जीवनमाथि यति भारी प¥यो कि उनले संसार नै छोड्ने निर्णय गरिन्।

सामान्य लाग्ने तर मस्तिष्कमा गहिरो असर पार्ने यस्तै एउटा घट्नाले भौडाहाकी १३ वर्षीया सरिया खातुनको मृत्यु भएको छ। सामाजिक सञ्जालको बढ्दो भीड मानसिकता, सार्वजनिक अपमान र डिजिटल हिंसाको खतरनाक परिणामका रूपमा यो घट्नालाई हेरिन थालेको छ।

सरिया खातुन असार १६ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिईन। प्रहरी र स्थानीय स्रोतका अनुसार घटनाको सुरुवात असार १५ गते भएको थियो। गाउँ नजिकैको चौर–खेतमा सरिया एक युवकसँग बसेकी थिइन्। त्यही समयमा गाउँकै केही युवाको समूह त्यहाँ पुग्यो। त्यसपछि घटनाले अप्रत्याशित मोड लियो।

ती युवाले ‘केटासँग किन बसेको ?’ भन्दै सरियामाथि गालीगलौज गर्न थाले। परिवारजनको दाबी अनुसार त्यहाँ केवल मौखिक दुव्र्यवहार मात्र भएन, कुटपिट र अपमानजनक व्यवहारसमेत गरियो। तर घटनाको सबैभन्दा खतरनाक पक्ष अर्को थियो— त्यो सम्पूर्ण दृश्य मोबाइल फोनमा रेकर्ड गरियो। त्यतिबेला सरिया केवल केही युवाको घेरामा थिइन्। तर भिडियो सामाजिक सञ्जालमा पुगेपछि उनी एकैपटक गाउँ, समाज र हजारौँ–लाखौं मोबाइल प्रयोगकर्ताको घेराभित्र पुगिन्।

मानव अधिकार र मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विज्ञहरू बारम्बार भन्दै आएका छन— सार्वजनिक अपमान आफैँमा हिंसा हो। तर त्यसलाई डिजिटल माध्यमबाट हजारौँ मानिसमाझ फैलाउनु झन् ठूलो हिंसा बन्न सक्छ। सरियाको परिवार पनि यही तर्क गर्छ।

उनीहरूका अनुसार चौरमा भएको दुव्र्यवहारभन्दा सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सरियाले भोग्नुपरेको मानसिक पीडा धेरै ठूलो थियो। गाउँमा जसले भेट्थ्यो, उसले भिडियोको कुरा गथ्र्यो। मोबाइल–मोबाइलमा आफ्नै अपमानको दृश्य फैलिएको थाहा पाएपछि उनी गम्भीर तनावमा परेकी थिइन्।

परिवारजन भन्छन्, उनलाई अपराधीझैँ व्यवहार गरियो, जबकि उनीमाथि कुनै कानुनी आरोप थिएन। केही युवाले आफूखुसी ‘नैतिक प्रहरी’ बनेर उनलाई सामाजिक कठघरामा उभ्याइदिए। अर्को दिन, अर्थात् असार १६ गते, सरिया आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिइन्। सरियाको मृत्युपछि परिवारले इलाका प्रहरी कार्यालय, सिमरामा किटानी जाहेरी दर्ता गराएको छ।

जाहेरीमा घटनामा संलग्न युवाहरूले सार्वजनिक अपमान, दुव्र्यवहार, कुटपिट तथा भिडियो भाइरल बनाएर सरियालाई मानसिक रूपमा यति धेरै दबाबमा पारे कि उनले आत्महत्या गर्न बाध्य हुनुपरेको आरोप लगाइएको छ। परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर बलराम श्रेष्ठका अनुसार घटनासम्बन्धी सात जनाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता गरिएको छ। तीमध्ये एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने अन्य आरोपितको खोजी जारी छ। प्रहरीले भने हालसम्म सरियाको मृत्युको अन्तिम कारणबारे निष्कर्ष निकालिसकेको छैन।

इन्स्पेक्टर श्रेष्ठका अनुसार घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको छ। मृतकले कुनै सुसाइड नोट नछोडेकाले आत्महत्याको कारणबारे थप प्रमाण संकलन गर्ने काम जारी छ। प्रहरीले परिवारको जाहेरी, सामाजिक सञ्जालमा फैलिएको भिडियो, स्थानीय बासिन्दाको बयान तथा घटनाको समयक्रमलाई अनुसन्धानको आधार बनाएको जनाएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार भाइरल भएको भिडियो अहिले महत्वपूर्ण प्रमाण बनेको छ।

प्रहरीका अनुसार भिडियोमा केही युवाले बालिकालाई घेरेर गालीगलौज गरेको, धम्क्याएको र अपमानजनक व्यवहार गरेको देखिन्छ। तर परिवारको दाबीअनुसार भिडियोमा देखिएकोभन्दा बाहिर पनि दुव्र्यवहार र कुटपिट भएको छ।

यही कारण प्रहरीले भिडियो मात्र होइन, प्रत्यक्षदर्शीको बयान, घटनास्थलको विवरण र डिजिटल प्रमाणलाई समेत अध्ययन गरिरहेको छ। यो घटना केवल एउटा गाउँको कथा होइन। विशेषगरी मधेशी समाजमा महिलाको सामाजिक प्रतिष्ठा, परिवारको इज्जत र सामुदायिक मूल्य–मान्यतासँग जोडिने विषयहरू अत्यन्त संवेदनशील मानिन्छन्।

यस्तो अवस्थामा कुनै किशोरी वा महिलालाई सार्वजनिक रूपमा अपमानित गर्ने, भिडियो बनाएर फैलाउने वा सामाजिक सञ्जालमा ‘चरित्रको फैसला’ गर्ने प्रवृत्तिले गम्भीर मानसिक असर पार्न सक्छ। सामाजिक सञ्जालले अभिव्यक्तिको अवसर दिएको छ, तर त्यही माध्यम भीडको अदालतमा रूपान्तरण हुँदा त्यसको मूल्य कहिलेकाहीँ एउटा जीवनले तिर्नुपर्ने अवस्था पनि आउँछ।

सरिया खातुन अब फर्केर आउने छैनन्। तर उनको मृत्युले एउटा प्रश्न भने समाजका सामु छोडेको छ— कसैको सहमति बिना भिडियो खिच्ने, सार्वजनिक रूपमा अपमानित गर्ने र त्यसलाई भाइरल बनाउने अधिकार कसलाई छ ? यदि कुनै किशोरीको जीवन नै सामाजिक सञ्जालको भीड मानसिकताको शिकार भएको हो भने दोष केवल भिडियो खिच्ने व्यक्तिमा सीमित हुन्छ कि त्यस्तो संस्कृतिलाई सामान्य ठान्ने समाजमा पनि ?

बाराको भौडाहमा घटेको यो घटनाको कानुनी निष्कर्ष जे आए पनि एउटा तथ्य स्पष्ट छ— डिजिटल युगमा मोबाइलको एउटा बटनले कहिलेकाहीँ कसैको जीवनभन्दा ठूलो क्षति निम्त्याउन सक्छ। र त्यसको मूल्य प्रायः पीडितले नै चुकाउनुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट