मलेसियाबाट फेसबुकमा चरित्र हत्या गरेको आरोप लगाउँदै पोखरामा ज्वाइँविरुद्ध ससुराले हाले साइबर अपराधको मुद्दा

काठमाडौँ— वैदेशिक रोजगारीका लागि हजारौं किलोमिटर टाढा पुगेका एक व्यक्तिविरुद्ध आफ्नै ससुराले अदालतमा मुद्दा दर्ता गरेको घट्ना सार्वजनिक भएको छ। आरोप कुनै सम्पत्ति विवाद वा लेनदेनको मात्र होइन, सामाजिक सञ्जालमार्फत परिवारकै सदस्यहरूको चरित्रहत्या, अश्लील गालीगलौज र निरन्तर मानसिक उत्पीडनको हो।

कास्की जिल्ला अदालतमा दर्ता भएको एक मुद्दाले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको दुरुपयोग कसरी पारिवारिक सम्बन्ध भत्काउने हतियार बन्दै गएको छ भन्ने प्रश्न फेरि उठाएको छ। यसपटक मुद्दाका वादी बनेका छन् कास्कीको गैह्रापाटन निवासी महेन्द्रप्रसाद सुवेदी (नाम परिवर्तन) र प्रतिवादी छन् उनका आफ्नै ज्वाइँ, माछापुच्छ्रे गाउँपालिका–३ घाचोक घर भएका ३९ वर्षीय विष्णुप्रसाद दाहाल।

अभियोगपत्रअनुसार दाहाल हाल मलेसियामा वैदेशिक रोजगारीमा छन्। तर विदेशमा बसेर उनले फेसबुक, टिकटक तथा विभिन्न नक्कली सामाजिक सञ्जाल खाता प्रयोग गरी आफ्नै ससुरा, सासू, श्रीमती, जापानमा रहेकी साली र अन्य आफन्तविरुद्ध निरन्तर अपमानजनक सामग्री सार्वजनिक गर्दै आएको आरोप छ।

मुद्दासँग सम्बन्धित कागजातले देखाए अनुसार पारिवारिक सम्बन्ध एक समय निकै निकट थियो। ससुरा सुवेदीले छोरी र नातिको पालनपोषणदेखि आवश्यक खर्चसम्म आफैंले व्यवस्थापन गर्दै आएका थिए। ज्वाइँ दाहाललाई मलेसिया पठाउन लाग्ने खर्चसमेत आफैंले जुटाइदिएको दाबी उनको छ। तर मलेसिया पुगेपछि दाहालले उक्त रकम फिर्ता नगरेको र विगत चार वर्षदेखि विदेशमै बस्दै आएको विवरण अभियोगपत्रमा उल्लेख गरिएको छ।

परिवारभित्रको सम्बन्ध कहिले र कसरी बिग्रियो भन्ने विषय अदालतमा परीक्षणको विषय बन्नेछ। तर अभियोगपत्रले पछिल्ला चार महिनायता दाहालले सामाजिक सञ्जाललाई व्यक्तिगत प्रतिशोधको माध्यम बनाएको आरोप लगाएको छ।

जाहेरीअनुसार सुरुमा उनले फेसबुकमार्फत आफन्तहरूलाई लक्षित गरी अश्लील तथा अपमानजनक टिप्पणी गर्न थाले। त्यसबाट हैरान भएपछि ससुरा सुवेदीले उनको फेसबुक खाता ब्लक गरेका थिए। तर त्यसपछि अवस्था झन् जटिल बनेको आरोप छ। ब्लक गरिएपछि दाहालले नयाँ–नयाँ फेक फेसबुक र टिकटक खाता सिर्जना गरी गालीगलौज, अपमानजनक सामग्री तथा अश्लील भ्वाइस सन्देश पठाउन थालेको दाबी गरिएको छ।

अभियोगपत्रमा उल्लेख भएअनुसार उनले विभिन्न नक्कली खातामार्फत झुटा आरोप लगाउने, परिवारका सदस्यहरूको प्रतिष्ठामा आँच पुग्ने सामग्री सार्वजनिक गर्ने तथा सार्वजनिक रूपमा बदनाम गराउने उद्देश्यले भिडियो र पोस्टहरू राख्ने गरेको आरोप लगाइएको छ। सुवेदीले आफन्त र इष्टमित्रहरूबाट जानकारी पाएपछि मात्रै सामाजिक सञ्जालमा भइरहेको गतिविधिबारे पूर्ण रूपमा थाहा पाएको बताएका छन्। त्यसपछि उनले कानुनी उपचार खोज्ने निर्णय गरेका थिए।

यो प्रकरण अदालतसम्म पुगेपछि सरकारी वकिल कार्यालय कास्कीले पनि अनुसन्धानका आधारमा मुद्दा अघि बढाएको छ। सहायक जिल्ला न्यायाधिवक्ता दुर्गादेवी शर्मा सुवेदीद्वारा दायर अभियोगपत्रमा विष्णुप्रसाद दाहालले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको देखिएको उल्लेख गरिएको छ।

विशेषगरी ऐनको दफा ४७(१) अन्तर्गत विद्युतीय माध्यम प्रयोग गरी सार्वजनिक नैतिकता, सामाजिक सद्भाव वा व्यक्तिको प्रतिष्ठामा असर पुग्ने सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था छ। सो कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको अभियोगपत्रमा उल्लेख छ।

हाल प्रतिवादी दाहाल नेपालबाहिर रहेको र अदालतमा उपस्थित नभएकाले उनलाई कानुनी प्रक्रियाअन्तर्गत म्याद जारी गरी कारबाही अगाडि बढाउन माग गरिएको छ। यो घटना केवल एक पारिवारिक विवादको कानुनी रूपान्तरण मात्र होइन। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल पारिवारिक कलह, सम्बन्ध विच्छेद, व्यक्तिगत प्रतिशोध र चरित्रहत्याको माध्यमका रूपमा प्रयोग हुन थालेको प्रवृत्तिको अर्को उदाहरण पनि हो।

फेसबुक पोस्ट, टिकटक भिडियो वा नक्कली खाताबाट गरिएका गतिविधि अब निजी गफगाफको विषय मात्र रहेका छैनन, ती कानुनी जिम्मेवारी र फौजदारी अभियोजनसम्म पुग्न सक्छन् भन्ने सन्देश यो मुद्दाले पनि दिएको छ।

अदालतले अब आरोपको सत्यता, डिजिटल प्रमाणको विश्वसनीयता र प्रतिवादीको भूमिकाबारे अन्तिम निर्णय गर्नेछ। तर सामाजिक सञ्जालमा लेखिएका शब्दहरू पनि अदालतसम्म पुग्न सक्छन् भन्ने तथ्य भने यो घटनाले फेरि एकपटक स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट