आत्मदाह गरेका गणेश नेपालीका दाजुलाई सीडीओले ‘चुप बस्न’ दबाब दिएका हुन ?

काठमाडौँ– महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा काठमाडौँका सीडीओ ईश्वरराज पौडेल विवादमा तानिएका छन्। गणेशका दाइ मदन नेपालीसँग अस्पतालभित्र भएको भेटघाटको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सीडीओ पौडेलको भूमिकामाथि प्रश्न उठ्न थालेको हो।

भाइरल भिडियोमा मदन नेपाली अस्पतालको बेडमा बसेको देखिन्छ भने सिडिओ पौडेल उनीसँग नजिकै उभिएर कुराकानी गरिरहेका छन्। भिडियोमा पौडेलले हात मुखतर्फ लगेर ‘चुप बस्न’ संकेत गरेजस्तो देखिने दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भएको छ। कतिपयले पीडित परिवारलाई मौन बस्न दबाब दिइएको हो कि भन्ने प्रश्न उठाएका छन्।

भिडियो सार्वजनिक भएसँगै गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारी संयन्त्रको भूमिकाबारे नयाँ बहस सुरु भएको छ। यद्यपि सार्वजनिक भिडियोमा भएको कुराकानीको पूर्ण विवरण खुलाइएको छैन भने सिडिओ पौडेल वा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

गणेश नेपालीको परिवारले भने घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान कायम राख्दै आएको छ। परिवारको यही अडानका बीच अस्पतालमा भएको भेटघाटको भिडियो बाहिरिएपछि विवाद थप चर्किएको हो।

स्रोतका अनुसार शुक्रबार राति करिब १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका केही अधिकारी र सिडिओ पौडेलको उपस्थितिमा गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पुर्‍याइएको थियो। त्यसक्रममा परिवारका सदस्यहरूसँग सरकारी अधिकारीहरूको छलफल समेत भएको बताइएको छ।

गणेश नेपालीले गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीसँग मोटरसाइकल पार्किङ र ह्विल लकको विषयमा विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।

घटनापछि सरकारले नेपाल प्रहरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ। नगर प्रहरीका केही कर्मचारीमाथि पनि अनुसन्धान अघि बढाइएको छ।

यसैबीच, सिडिओ पौडेलसँग सम्बन्धित भिडियोले घटनाको अनुसन्धानभन्दा बाहिर अर्को विवाद जन्माएको छ। भिडियोमा देखिएको संकेतको वास्तविक सन्दर्भ के थियो, परिवारसँग के विषयमा छलफल भइरहेको थियो र ‘चुप बस्न’ भनिएको दाबीमा कति सत्यता छ भन्ने विषयमा आधिकारिक स्पष्टता आउन बाँकी छ।

तर पीडित परिवारसँग राज्यका उच्च अधिकारीको संवादको दृश्य सार्वजनिक भएसँगै पारदर्शिता, संवेदनशीलता र सरकारी संयन्त्रको व्यवहारबारे प्रश्नहरू भने थप तीव्र बनेका छन्। हालसम्म सम्बन्धित निकायबाट औपचारिक स्पष्टीकरण नआएकाले भिडियोको सन्दर्भ र त्यसले उठाएका प्रश्नहरू थप चर्चाको विषय बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट