७२ घण्टामा तीन आत्मदाहः संयोग होइन, समाजभित्र बढ्दो निराशाको डरलाग्दो संकेत

काठमाडौँ– बिहीबार त्रिपुरेश्वरमा २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। शुक्रबार सर्लाहीमा एमएस्सी उत्तीर्ण ३५ वर्षीय विवेक मण्डलले त्यही गरे। शनिबार बिहान काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले आफ्नै घरभित्र शरीरमा आगो लगाए।

केवल तीन दिनको अन्तरालमा आत्मदाहका तीन घटना। तीमध्ये एक जनाको मृत्यु भइसकेको छ। दुई जना जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। यो केवल संयोग हो ? कि नेपाली समाजभित्र लामो समयदेखि मौन रूपमा थुप्रिँदै आएको निराशा, आर्थिक तनाव, मानसिक पीडा र संस्थागत असंवेदनशीलताको विस्फोटक संकेत ?

पछिल्ला केही दिनमा भएका यी घटनाले अहिले देशलाई यही प्रश्न सोध्न बाध्य बनाइरहेका छन्। आत्मदाह संसारकै सबैभन्दा पीडादायी र चरम प्रकारको आत्मघाती कदम मानिन्छ। सामान्य आवेग, क्षणिक रिस वा सानो असन्तुष्टिले मानिसलाई यो बिन्दुसम्म पु¥याउँदैन। मनोवैज्ञानिकहरूका अनुसार यस्तो निर्णयको पछाडि प्रायः लामो समयदेखिको तनाव, अपमानको अनुभूति, गहिरो निराशा, सामाजिक दबाब, आर्थिक संकट वा आफूलाई पूर्ण रूपमा असहाय महसुस गर्ने अवस्था लुकेको हुन्छ।

गणेश नेपालीको घटनाले यही बहसलाई राष्ट्रिय स्तरमा पु¥याइदियो। मुगुको सोरु गाउँपालिका–१ का गणेश कुनै अपराधी थिएनन्, न कुनै राजनीतिक आन्दोलनकारी। उनी आफ्नो परिवारको भविष्य खोजिरहेका एक सामान्य युवा थिए। कृषितर्फ जेटिए अध्ययन गरेका उनले सरकारी सेवामा प्रवेश गर्ने सपना देखेका थिए। लोकसेवाका परीक्षा दिएका थिए। तर सफलता हात लागेन।

घरको आर्थिक अवस्था कमजोर हुँदै गयो। बुबाले सिलाइ गरेर परिवार चलाउँथे। पाँच वर्षअघि आँखाको ज्योति गुमाएपछि परिवारको जिम्मेवारी झन् बढ्यो। विवाह भयो। छोरी जन्मिइन्। परिवारको खर्च बढ्यो।

त्यसपछि गणेशले राइड सेयरिङ प्लेटफर्ममार्फत मोटरसाइकल चलाउन थाले। बिहानदेखि रातिसम्म सडकमा पसिना बगाउँदा पनि भविष्य सुरक्षित देखिएन। अन्ततः विदेश जाने निर्णय गरे। राहदानी बनाउन पुगे। तर त्यही दिन उनको जीवन समाप्त भयो।

प्रहरी अनुसन्धान अनुसार राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङको विषयमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग विवाद भयो। महिला नगर प्रहरीको मोबाइल भुइँमा खस्यो। गणेशको मोटरसाइकलमा ह्विल लक लगाइयो। विवाद बढ्यो। त्यसपछि करिब दुई घण्टा बित्यो।

त्यो दुई घण्टाभित्र गणेशको मनमा के चलिरहेको थियो ? उनी किन यस्तो निष्कर्षमा पुगे ? यसको उत्तर अहिले कसैसँग छैन। तर दिउँसो उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याए र आगो लगाए।

वीर अस्पतालमा उपचारका क्रममा उनले दाजुसँग भनेका शब्द अहिले देशभर चर्चामा छन— ‘महानगर प्रहरीले मोटरसाइकलमा लक लगाएपछि मैले पेट्रोल छर्केर आगो लगाएँ।’ तर के वास्तवमै एउटा ह्विल लकले मात्रै मानिसलाई आत्मदाहसम्म पु¥याउन सक्छ ? यही प्रश्नले अहिले बहसको दिशा बदलिरहेको छ।

सामाजिक मनोविज्ञानका जानकारहरू भन्छन्, यस्ता घटनामा अन्तिम कारणभन्दा पनि त्यसअघि लामो समयदेखि जम्मा भइरहेका तनावहरू बढी महत्वपूर्ण हुन्छन्। बाहिर देखिने घटना केवल ‘ट्रिगर’ हुन सक्छ, तर विस्फोट भने धेरै अघिदेखि तयार भइरहेको हुन्छ।

गणेशको जीवनकथा हेर्दा पनि त्यही संकेत देखिन्छ— बेरोजगारी, आर्थिक दबाब, परिवारको जिम्मेवारी, विदेश जाने बाध्यता र भविष्यको अनिश्चितता। गणेशको मृत्युको खबर सेलाउन नपाउँदै शुक्रबार सर्लाहीबाट अर्को खबर आयो।

गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आगो लगाए। विज्ञान विषयमा एमएस्सी गरेका विवेक उच्च शिक्षा हासिल गरेका युवा थिए। केही समय कलेजमा पढाए पनि एक वर्षअघि जागिर गुमाएका थिए। त्यसयता बेरोजगार थिए।

स्थानीयका अनुसार आर्थिक अभावले उनी लामो समयदेखि तनावमा थिए। परिवारले उनको मानसिक अवस्था पनि ठीक नरहेको बताएका छन्। प्रहरीका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ। अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

विवेकको कथा अर्को गम्भीर प्रश्नसँग जोडिन्छ— नेपालमा उच्च शिक्षा हासिल गरेका युवाहरू किन बढ्दो रूपमा निराश बन्दै गएका छन् ? विश्वविद्यालयको प्रमाणपत्र हातमा लिएपछि पनि रोजगारीको सुनिश्चितता नहुनु, बढ्दो आर्थिक असुरक्षा र सामाजिक अपेक्षाको दबाबले धेरै युवालाई मानसिक संकटतर्फ धकेलिरहेको विज्ञहरू बताउँछन्।

यही बहस चलिरहेका बेला शनिबार बिहान काठमाडौंमा तेस्रो घटना भयो। ४५ वर्षीय आश्विन राउतले बुद्धनगरस्थित आफ्नै घरको भान्सामा शरीरमा आगो लगाए। उनको शरीर करिब ५० प्रतिशत जलेको छ। वीर अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारण अझै खुलेको छैन।

तर तीन दिनभित्र एउटै विधिबाट भएका तीन घटनाले अहिले एउटा डरलाग्दो संकेत दिएको छ— आत्मदाह अब अपवाद मात्रै रहिरहेको छैन। नेपालमा यसअघि पनि आत्मदाहका घटनाले राष्ट्रिय बहस जन्माएका छन्।

तीन वर्षअघि इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले संसद भवनअगाडि आत्मदाह गरेका थिए। त्यसअघि पनि विभिन्न समयमा यस्ता घटना भएका थिए। तर पछिल्ला केही दिनमा देखिएको क्रमले समाजशास्त्री, मनोवैज्ञानिक र नीतिनिर्माताहरूलाई थप चिन्तित बनाएको छ।

विशेषज्ञहरूका अनुसार यस्ता घटनापछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चा हुँदा त्यसले कहिलेकाहीँ ‘कपीक्याट इफेक्ट’ पनि उत्पन्न गर्न सक्छ। अर्थात् गहिरो तनावमा रहेका व्यक्तिले त्यही विधिलाई आफ्नो पीडाको अभिव्यक्तिको माध्यम ठान्न सक्छन्। तर त्यसो भन्दैमा मूल समस्यालाई बेवास्ता गर्न सकिँदैन।

किनभने गणेश, विवेक र आश्विन तीनै जनाका जीवनकथा फरक छन्। उमेर फरक छ। पेसा फरक छ। सामाजिक पृष्ठभूमि फरक छ। तर उनीहरूलाई जोड्ने साझा धागो भने देखिन्छ— असन्तोष, तनाव, अनिश्चितता र गहिरो मानसिक दबाब।

गणेशको मृत्युले अहिले काठमाडौं महानगरपालिका, नगर प्रहरीको व्यवहार र राज्य संयन्त्रको संवेदनशीलतामाथि प्रश्न उठाएको छ। विवेकको घटनाले बेरोजगारी र आर्थिक संकटको बहसलाई अगाडि ल्याएको छ। आश्विनको घटनाले मध्यम उमेर समूहभित्र लुकेका मानसिक र सामाजिक तनावबारे प्रश्न खडा गरेको छ।

यही कारण यी घटनालाई केवल व्यक्तिगत निर्णय वा क्षणिक आवेगको रूपमा मात्र हेर्न खोज्दा ठूलो चित्र छुट्न सक्छ। किनकि जब तीन दिनमा तीन जना मानिस एउटै पीडादायी बाटो रोज्न पुग्छन्, त्यसले एउटा व्यक्तिको कथा मात्रै सुनाइरहेको हुँदैन। त्यसले समाजभित्र बढ्दै गएको बेचैनीको संकेत दिइरहेको हुन्छ।

अहिले गणेश नेपालीको मृत्युको छानबिन भइरहेको छ। विवेक र आश्विन उपचाररत छन्। अनुसन्धानले आफ्ना निष्कर्ष दिनेछ। तर ती निष्कर्षभन्दा पनि ठूलो प्रश्न अहिले समाजको अगाडि उभिएको छ— के नेपालमा आर्थिक संकट, बेरोजगारी, मानसिक स्वास्थ्य समस्या र नागरिक–राज्य सम्बन्धको तनाव यति गहिरो बन्दै गएको छ कि मानिसहरू आफ्नै शरीरमा आगो लगाएर विरोध, निराशा वा पीडा व्यक्त गर्न थालेका छन् ?

यदि उत्तर ‘हो’ तर्फ जाँदैछ भने समस्या केवल तीन व्यक्तिको होइन, समग्र समाजको हो। र त्यो बहस अब टारेर होइन, सामना गरेर मात्रै समाधान खोज्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट