पूर्व प्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय निर्धारण बाँकी
काठमाडौँ– मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि साउन ३२ गते पेशी तोकेको हो।
अदालतको यो निर्णयसँगै लामो समयदेखि विवाद र बहसको विषय बनेको अहिराजविरुद्धको मुद्दा दोषसिद्धिको चरणमा पुगेको छ। अब अदालतले सजाय निर्धारण गर्ने क्रममा अपराधको प्रकृति, प्रमाण र कानुनी व्यवस्थाको आधारमा कैद तथा जरिवानाबारे अन्तिम निर्णय गर्नेछ।
अहिराजमाथि काठमाडौँको नयाँ बानेश्वरस्थित डेरामा २०८१ जेठ ४ गते विराटनगरकी २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। पीडित युवतीले दिएको जाहेरीमा पारिवारिक चिनजानको फाइदा उठाउँदै ‘जरुरी कुरा छ’ भन्दै कोठामा प्रवेश गरी जबर्जस्ती करणी गरेको उल्लेख थियो।
प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अन्तर्गत मुद्दा दायर गरेको थियो। उक्त कानुनी व्यवस्थाअनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलामाथि जबर्जस्ती करणी गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
मुद्दाको अनुसन्धानका क्रममा पीडितको बयान, घटनास्थल मुचुल्का, चिकित्सकीय परीक्षण प्रतिवेदन तथा अन्य प्रमाणहरू अदालतमा पेश गरिएको थियो। अनुसन्धान प्रतिवेदनमा पीडितको यौनजन्य परीक्षणका क्रममा ‘हाइमेन ओल्ड टियर’ उल्लेख भएको र घटनाबारेको बयानसँग अन्य प्रमाणहरू मिल्दो देखिएको प्रहरीको निष्कर्ष थियो।
अहिराजलाई गत वर्ष साउन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। त्यसअघि उनीविरुद्ध जाहेरी दर्ता भइसकेको भए पनि पक्राउ प्रक्रिया ढिला भएको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो। काठमाडौं जिल्ला अदालतले यसअघि नै पुर्पक्षका लागि उनलाई डिल्लीबजार कारागार पठाउने आदेश दिएको थियो।
मुद्दाका क्रममा अहिराजले भने आफूमाथि लगाइएको बलात्कार आरोप अस्वीकार गर्दै आफू ‘हनी ट्रयाप’ र ‘एक्सटर्सन’को सिकार भएको दाबी गरेका थिए। उनले जाहेरीकर्ता युवती, उनकी आमा र भाइले आफूलाई २० लाखदेखि ६० लाख रुपैयाँसम्म माग गर्दै दबाब दिएको आरोप लगाएका थिए।
त्यसै आधारमा उनले युवतीविरुद्ध ‘आपराधिक लाभ (एक्सटर्सन)’ सम्बन्धी जाहेरी समेत दर्ता गराएका थिए। अहिराजले प्रहरीसमक्ष दिएको बयानमा युवतीलाई तीन लाख रुपैयाँ दिएको स्वीकार गरेका थिए। उनका अनुसार झूटा मुद्दामा फसाइदिने धम्कीबाट मुक्त हुन उक्त रकम उपलब्ध गराइएको थियो।
यद्यपि, अदालतले अन्ततः अभियोजन पक्षले पेश गरेका प्रमाण र बहसलाई पर्याप्त मान्दै उनलाई दोषी ठहर गरेको हो। अदालतले हालसम्म पूर्ण फैसला सार्वजनिक नगरेकाले दोषी प्रमाणित गर्ने आधार बनेका सबै कानुनी र तथ्यगत कारणहरू विस्तृत फैसलापछि मात्रै खुल्नेछन्।
राजेश झा अहिराज २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि उनी पदमुक्त भएका थिए। उनी पत्रकार, मधेशवादी अभियन्ता तथा मधेश आन्दोलनसम्बन्धी अनुसन्धानकर्ता समेतका रूपमा परिचित छन्।
अब अदालतको आगामी फैसला अनुसार अहिराजले कति वर्ष कैद र कति जरिवाना भोग्नुपर्ने भन्ने विषय टुंगो लाग्नेछ। हाल उनी न्यायिक हिरासतमा छन्।

