महोत्तरीमा नक्कली औँठाछाप लगाएर बाल संरक्षण भत्ता हिनामिना, तत्कालीन गाविस सचिवसहित ३ जनाविरुद्ध मुद्दा
राजविराज– महोत्तरीको तत्कालीन भरतपुर गाउँ विकास समिति (गाविस) मा बाल संरक्षण (पोषण) भत्ताका लागि विनियोजित ३ लाख ७ हजार २०० रुपैयाँ नक्कली भरपाई तयार गरी हिनामिना गरेको आरोपमा तत्कालीन गाविस सचिवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०६८/०६९ मा वितरण हुनुपर्ने भत्ता लाभग्राहीलाई नदिई लाभग्राहीकै नाममा नक्कली कागजात तयार गरी सरकारी रकम दुरुपयोग गरिएको निष्कर्षसहित आयोगले शुक्रबार अभियोगपत्र दायर गरेको हो।
अख्तियारका अनुसार तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी, कार्यालय सहायक उमाकान्त महतो तथा तत्कालीन जिल्ला विकास समिति (जिविस) महोत्तरीका सहायक लेखापाल सुरुज साहको मिलेमतोमा बाल संरक्षण अनुदान रकम अनियमित रूपमा खर्च भएको पुष्टि भएको छ।
अनुसन्धानबाट लाभग्राही बालबालिकालाई भत्ता वितरण नगरी उनीहरूका नाममा नक्कली भरपाई तयार गरिएको खुलेको अख्तियारले जनाएको छ। प्रयोगशाला परीक्षण प्रतिवेदनले समेत लाभग्राहीको सहीछाप हुनुपर्ने स्थानमा आरोपितहरूले आफैं वा अन्य व्यक्तिमार्फत औँठाछाप लगाएर कागजात तयार गरेको देखाएको आयोगको दाबी छ।
अख्तियारका अनुसार उक्त कार्य योजनाबद्ध रूपमा सरकारी रकम हिनामिना गर्ने उद्देश्यले गरिएको थियो। त्यसका आधारमा तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको माग गर्दै ३ लाख ७ हजार २०० रुपैयाँ बिगो असुलउपर, सो बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा तत्कालीन कार्यालय सहायक उमाकान्त महतो हाल गौशाला नगरपालिका–४ का वडा सचिवका रूपमा कार्यरत रहेको र तत्कालीन जिविस महोत्तरीका सहायक लेखापाल सुरुज साह अहिले भंगाहा नगरपालिकामा अधिकृत (छैटौं तह) का रूपमा कार्यरत रहेको खुलेको छ।
बाल संरक्षण भत्ताजस्तो संवेदनशील सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण हुनुपर्ने रकम नै नक्कली भरपाई तयार गरी हिनामिना गरिएको घटनाले स्थानीय तहमा सामाजिक सुरक्षा कोषको पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। अब उक्त प्रकरणको अन्तिम कानुनी टुंगो विशेष अदालतको फैसलाबाट लाग्नेछ।

