पत्रकार कुट्ने असईलाई एसपीको संरक्षण, डेढ महिना वितिसक्दा पनि उजुरी दर्ता भएन

राजविराज– पत्रकार मनोहर पोखरेललाई कुट्ने गर्ने असई विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गर्न अस्विकार गरेको छ। घटना भएको डेढ महिना बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको हो।

२०८० साउन १५ गते गते सूचना तथा समाचार संकलन गरेर फर्किदै गरेका पोखरेललाई असई ४० वर्षीय राजेश्वर महतोले परिसरभित्रै कुटपिट गरेका थिए। असई महतो विरुद्ध कारवाहीको माग गर्दै दिएको उजुरी दर्ता गर्न नमानेको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झाले वताए।

एसपी नरेन्द्रकुमार कार्कीले उजुरी दर्ता गर्न र दरपिठ गर्न समेत नमानेपछि फर्किएको झाले जानकारी दिए। असई महतोले नै पोखरेललाई कुटपिट गरेको स्विकार गरेका थिए। साउन १५ गते भएको प्रारम्भिक छलफलमा उनले घट्ना स्विकार गरेको सीसीटिभीमा समेत प्रमाण रहेको र पोखरेलमाथि दुव्र्यवहार÷हातपातमा संलग्न भन्दै असई महतोलाई साउन १६ गतेदेखि प्रहरीले नै निलम्बन गरेको अवस्थामा पनि उनलाई विभागिय कारवाही गर्ने निर्णय अझै भएको छैन ।

पीडितले न्यायका लागि प्रचलित कानून बमोजिम दिन पाउने उजुरी प्रहरीले लिन नमानेको नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष वैद्यनाथ यादवले बताए।

विपक्षी जिल्ला प्रहरी कार्यालय समेत भएको गर्भपतन मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट २०८० जेठ २६ गते भएको परमादेश अनुसारको पत्र लिएर २०८० साउन ७ गतेको पत्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता भए पनि उजुरी दर्ता नभएकोमा निवेदककै आग्रहमा प्रमाण खण्डका साक्षी समेत भएर प्रहरी कार्यालय जाँदा पोखरेलमाथि महतोले मुक्का र बुटले आक्रमण गरेका थिए ।

मुद्दा फाँटबाट बाहिरदै गरेका पोखरेलमाथि अचानक आएका महतोले गालीगलौज गर्दै धम्काएर रिसाउँदै कार्यालय भित्र गएको एक दुई मिनेटमा फर्किएर मुक्का र बुटले प्रहार गरेको पीडितले बताएका छन्। महतोको आक्रमणबाट पोखरेलको अण्डकोषमा चोट लागेको थियो।

उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको थियो । प्रहरीबाट भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले एक सातासम्म आन्दोलन गरेपछि साउन ३० गते सिडिओ भूपेन्द्र थापा, एसपी कार्की र पत्रकार महासंघबीच दोषी असई महतोलाई प्रचलित कानुन अनुसार कारवाही गर्ने सहमति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट