लगातारको वर्षाले बागलुङ र पाल्पामा गरी ६ जनाको मृत्यु, म्याग्दीमा चार जना पुरिए

काठमाडौँ — लगातारको वर्षापछि खसेका पहिरोले बागलुङ र पाल्पामा कम्तीमा ६ जनाको ज्यान गएको छ भने म्याग्दीमा चार जना पहिरोमा पुरिएका छन्। बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरामा आइतबार बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एउटै परिवारका चार जनाको मृत्यु भएको हो।

उता पाल्पाका विभिन्न स्थानमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पनि बाढी र पहिरोले सडक, पुल तथा घरमा क्षति पुर्‍याएको छ।

निसीखोलामा बिहान करिब ४ देखि ५ बजेको बीचमा अचानक खसेको पहिरोले ३९ वर्षीया श्यामकुमारी विकको घर पुरेको थियो। घटनामा श्यामकुमारीसँगै उनका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार घरमा पाँच जना रहेकोमा एक जना पहिरो खस्नुअघि नै बाहिर निस्किएकाले ज्यान जोगिएको थियो। घटनापछि वडा अध्यक्ष र प्रहरी टोली घटनास्थल पुगेको थियो।

सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ। खोरमा रहेका २५ बाख्रामध्ये आठ वटा पहिरोले बगाएको जनाइएको छ।

पाल्पामा पनि लगातारको वर्षासँगै पहिरोले मानवीय क्षति पु¥याएको छ। माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सारु घरसहित पहिरोमा पुरिएकी थिइन्। खोजीका क्रममा उनको शव पहिरोले पुरिएको घरबाट निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए। चिदीको पनि घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले ७५ वर्षीय लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरेको छ। घटनामा लिलबहादुर, उनकी १७ वर्षीया छोरी दिना घर्तीमगर र छिमेकी मोतीलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता रहेको प्रहरीले जनाएको छ।

माथागढी गाउँपालिका–१ चिदीपानीको जनेवाखोलामा रेलबहादुर दमाई र गोविन्दबहादुर सुनारीका गोठसमेत पहिरोमा पुरिएका छन्। घरहरू जोखिममा परेका छन् भने पशुचौपायासमेत पहिरोमा पुरिएको जनाइएको छ। पूर्ण अपाङ्गता भएका गोविन्दबहादुर सुनारीसहित प्रभावित परिवारको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको वडा अध्यक्ष राजकुमार पन्थीले बताएका छन्।

माथागढी गाउँपालिका–४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घर जोखिममा परेका छन्। गाउँपालिका अध्यक्ष यम चिदीका अनुसार जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

लगातारको वर्षाले पाल्पा र रुपन्देहीका नदी तथा खोलामा समेत पानीको सतह बढेको छ। पाल्पाको माडीफाँट डुबानमा परेको छ भने तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवामा दुई घर बगाएको छ। बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीका घरमा आंशिक क्षति पु¥याएको जनाइएको छ।

उता म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ। गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर ५ मा दुई जना गरी चार जना पहिरोमा पुरिएका छन्। वडा नम्बर २, ३ र ५ मा कम्तीमा ६ देखि ७ वटा घर बाढी तथा पहिरोले पुरिएको उनले बताएका छन्।

वडा नम्बर ३, ५, ६, ७ र ८ लगायतका क्षेत्रमा लगातारको वर्षाका कारण पहिरो खसेको छ। बाढी तथा पहिरोको उच्च जोखिममा रहेका ८ देखि १० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित मोटरेबल पुल बाढीले बगाएको छैन। तर पुलको जग वरिपरि करिब २० मिटर कटान भएपछि सवारी आवागमन भने पूर्ण रूपमा बन्द भएको अध्यक्ष पुनले जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको थप विवरण संकलन भइरहेको छ।

लगातारको वर्षापछि पहाडी जिल्लाका बस्ती, सडक, पुल, पशुचौपाया र घरहरूमा क्षति बढ्दै गएपछि स्थानीय तह र सुरक्षा निकायले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा प्रभावित क्षेत्रमा उद्धार र खोजीलाई प्राथमिकता दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट