वैष्णो मेडिसेल्सका सञ्चालक रवि अग्रवालको नागरिकतामाथि प्रश्न, सर्लाही प्रशासनमा पुग्यो उजुरी

राजविराज— नेत्ररोगसम्बन्धी मेडिकल उपकरण आपूर्ति गर्दै आएको वैष्णो मेडिसेल्स प्रालिका सञ्चालक रवि कुमार अग्रवाल नेपाली नागरिक नै नभएको दाबी गर्दै उनको नागरिकता छानबिन र आवश्यक कानुनी कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा उजुरी परेको छ।

उजुरीमा अग्रवालले मलंगवाबाट नेपाली नागरिकता लिँदा पेस गरेको पारिवारिक विवरणदेखि जन्म, नाता, सनाखत र स्थानीय तहको सिफारिससम्मका कागजात झिकाएर त्यसको वैधानिकता परीक्षण गर्न माग गरिएको छ।

उजुरीकर्ताले अग्रवालको नागरिकता प्राप्तिको आधार स्पष्ट गर्न नागरिकता जारी गर्दाका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन मागसमेत गरेका छन्। विशेषगरी उनले नागरिकता लिन प्रयोग गरेको पारिवारिक विवरण, बुवा–आमाको नागरिकता तथा परिचयसम्बन्धी कागजात, जन्म र नाता प्रमाणित, सनाखत तथा सम्बन्धित स्थानीय तहबाट गरिएको सिफारिसलगायत अभिलेख परीक्षण गर्न माग गरिएको हो।

उजुरीमा अग्रवालका बुवा, आमा तथा दाजुभाइसमेत भारतीय नागरिक रहेको दाबी गरिएको छ। उनीहरू भारतीय नागरिक भएको अवस्थामा अग्रवालले नेपाली नागरिकता प्राप्त गर्दा कुन कानुनी आधार र कागजात प्रस्तुत गरेका थिए भन्ने प्रश्न उठाउँदै नागरिकता जारी गर्ने प्रक्रियासमेत छानबिनको दायरामा ल्याउन माग गरिएको छ।

यो विषयमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा उजुरी परेपछि नागरिकता प्राप्तिको आधार र त्यससँग सम्बन्धित अभिलेख परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ। सहायक सीडीओ होमप्रसाद घिमिरेले उजुरी मुद्दामा पठाईएको र आवश्यक प्रकृया अघि वढिसकेको जानकारी दिए।

अग्रवालसँग जोडिएको अर्को पक्ष उनको व्यावसायिक गतिविधि हो। काठमाडौंको त्रिपुरेश्वरमा दर्ता रहेको वैष्णो मेडिसेल्स प्रालि नेत्ररोगसम्बन्धी मेडिकल उपकरण तथा सामग्रीको बिक्री–वितरणमा संलग्न कम्पनीका रूपमा देखिन्छ। कम्पनीले नेत्र शल्यक्रियामा प्रयोग हुने उपकरण, मेसिन तथा अन्य सामग्रीको आपूर्ति गर्दै आएको विवरणमा उल्लेख छ। वैष्णो मेडिसेल्सलाई केही अन्तर्राष्ट्रिय मेडिकल उपकरण ब्रान्डले नेपालका लागि आधिकारिक विक्रेताका रूपमा समेत उल्लेख गरेको अभिलेख भेटिन्छ।

कम्पनीको कारोबारसँग सम्बन्धित सार्वजनिक विवरणमा फाको तथा भिट्रियोरेटिनल मेसिन, अपरेटिङ माइक्रोस्कोप, लेजर, स्लिट ल्याम्पलगायत नेत्रसम्बन्धी उपकरणको बिक्री, वितरण र बिक्रीपछिको सेवामा संलग्न रहेको उल्लेख गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठानबाट हराएको शल्यक्रिया उपकरणसम्बन्धी एक छुट्टै प्रकरणमा समेत नेपालमा उक्त उपकरणको आधिकारिक विक्रेता वैष्णो मेडिसेल्स रहेको उल्लेख भएको सार्वजनिक अनुसन्धान विवरणमा देखिन्छ।

यही कारण नागरिकताको विषयसँगै वैष्णो मेडिसेल्सले विभिन्न आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा गरेको भनिएको आपूर्तिको कारोबारसमेत सार्वजनिक अभिलेखबाट परीक्षण गर्नुपर्ने माग उठेको छ। तिलगंगा आँखा अस्पताल, मेची आँखा अस्पताल, आरएम केडिया आँखा अस्पताललगायत संस्थामा कम्पनी वा यससँग सम्बन्धित आपूर्तिकर्तामार्फत भएका खरिदको बोलपत्र, प्रतिस्पर्धी कम्पनी, मूल्य तुलना, प्राविधिक मूल्यांकन, छनोटको आधार, सम्झौता र भुक्तानी विवरण परीक्षण गर्न सकिने विषय हुन्।

तर कुनै अस्पतालमा उपकरण आपूर्ति भएको वा कुनै स्वास्थ्य संस्थासँग कारोबार भएको मात्र आधारमा अनियमितता भएको निष्कर्ष निकाल्न भने मिल्दैन। त्यसका लागि सम्बन्धित खरिदका मूल कागजात, बोलपत्र प्रक्रिया, प्रतिस्पर्धा, मूल्यांकन र भुक्तानी अभिलेख आवश्यक हुन्छ।

यस प्रकरणमा अहिले सबैभन्दा महत्वपूर्ण अभिलेख सर्लाही प्रशासनमा रहेको अग्रवालको नागरिकता फाइल हो। उनले नागरिकता प्राप्त गर्दा कुन कागजात पेस गरे, ती कागजात कहाँबाट प्रमाणित भए, स्थानीय तहले के सिफारिस गरेको थियो र प्रशासनले कुन आधारमा नागरिकता जारी गरेको थियो भन्ने विवरणले उजुरीमा उठाइएका प्रश्नको पहिलो जवाफ दिनेछ।

त्यसपछि वैष्णो मेडिसेल्सको मेडिकल उपकरण आपूर्तिसँग सम्बन्धित खरिद अभिलेख परीक्षण गर्दा कम्पनीको कारोबारको कानुनी र व्यावसायिक प्रक्रिया पनि छुट्टै स्पष्ट गर्न सकिनेछ।

यस विषयमा वैष्णो मेडिसेल्स प्रालिका सञ्चालक रवि कुमार अग्रवालको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। यस विषयमा उनको प्रतिक्रिया आए समावेश गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट