चोलेन्द्रलाई छोडेर सरकारले फेरी दुर्गा प्रसाईंलाई समात्यो, सांसदले उजुरी परेको खुलासा

काठमाडौँ— पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’का कारण भन्दै मध्यराति प्रहरी नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडिएको घटनाको कानुनी आधारमाथि संसदमा प्रश्न उठिरहेका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

साइबर ब्यूरोले सोमबार भक्तपुरबाट प्रसाईंलाई नियन्त्रणमा लिएको हो। यसपटक उनको पक्राउ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीको उजुरीका आधारमा भएको प्रहरीले जनाएको छ।

प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो। तर उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे ब्यूरोले तत्काल विस्तृत जानकारी दिएको छैन।

प्रहरीको पछिल्लो कदम यस्तो समयमा आएको छ, जतिबेला पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार मध्यराति घरबाट नियन्त्रणमा लिएर आइतबार दिउँसो छाडिएको विषय संसदमा चर्को रूपमा उठेको छ। जबरालाई नियन्त्रणमा लिएको कारण प्रहरीले ‘सुरक्षा थ्रेट’ बताएको भए पनि पक्राउ पुर्जी, सुरक्षा जोखिमको प्रकृति र त्यसका आधारबारे प्रश्न उठेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जबरालाई मध्यराति नियन्त्रणमा लिएर १२ घण्टा नबित्दै छाडिएको घटनामाथि सरकारसँग जवाफ मागेका थिए। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पनि घटनाको कानुनी आधार र सरकारी कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

जबराको विषय संसद्मा बहसको विषय बनिरहेकै दिन प्रसाईं पक्राउ परेपछि पछिल्ला दिनमा सरकार र प्रहरीको नियन्त्रण तथा रिहाइका घटनाक्रम फेरि एकैपटक चर्चामा आएका छन्। यद्यपि, जबरालाई नियन्त्रणमा लिएको घटना र प्रसाईंको पछिल्लो पक्राउबीच प्रत्यक्ष सम्बन्ध रहेको कुनै आधिकारिक आधार सार्वजनिक भएको छैन।

प्रसाईं भने पछिल्लो समय पटक–पटक प्रहरी नियन्त्रणमा पर्दै र अदालत वा प्रशासनिक प्रक्रियाबाट छुट्दै आएका छन्। साइबर कसुर, सार्वजनिक शान्ति तथा निर्वाचनसँग सम्बन्धित गतिविधिलगायत विभिन्न प्रसंगमा उनलाई यसअघि पनि पक्राउ गरिएको थियो।

यसअघि पनि प्रसाईंको पक्राउको कानुनी आधारलाई लिएर अदालतसम्म प्रश्न पुगेको थियो। २०८२ फागुनमा पक्राउ परेका प्रसाईंको हकमा सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गर्दै पक्राउको कारणबारे प्रहरीसँग जवाफ मागेको थियो। त्यसअघि निर्वाचनमा अवरोध पु¥याउन सक्ने गतिविधिको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीको दाबी थियो।

त्यसैगरी, पछिल्लो समय भक्तपुरस्थित निवासबाट बाहिर निस्कन नदिइएको घटनामा पनि सर्वोच्च अदालतले प्रहरीसँग कारण मागेको थियो। प्रहरीले त्यसलाई नजरबन्द नभई सुरक्षा व्यवस्थाका क्रममा गरिएको तैनाथीका रूपमा व्याख्या गरेको थियो।

यसपटक भने प्रसाईंविरुद्ध प्रतिनिधिसभा सदस्य रचना खतिवडा खत्रीले दिएको उजुरीलाई पक्राउको आधार बनाइएको प्रहरीको भनाइ छ। उजुरीमा के विषय समावेश छ र प्रसाईंमाथि कुन कानुनी प्रावधानअन्तर्गत अनुसन्धान अघि बढाइँदैछ भन्ने विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

प्रसाईं यसअघि पनि साइबर ब्यूरोको अनुसन्धानमा परेका थिए। सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्ति तथा सामग्री सार्वजनिक गरेको विषयलाई लिएर उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान हुँदै आएको छ। पछिल्लो समय उनको घरमा समेत प्रहरीले खानतलासी गरी मोबाइल तथा आईप्याड नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो।

यसैबीच, सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको पछिल्लो पक्राउ शैलीमाथि प्रश्न उठाएका छन्। दुलालले जबराको घटनालाई लिएर ‘सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई?’ भन्दै सरकारसँग जवाफ मागेका थिए। राईले पनि ‘घरि भरत दाहाल पक्राउ, ग¥यो छोड्यो, घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो’ भन्दै सरकारको कार्यशैलीबारे प्रश्न उठाएका थिए।

अब प्रसाईंको पछिल्लो पक्राउ कुन आरोप, कुन प्रमाण र कुन कानुनी आधारमा अघि बढ्छ भन्ने विषयमा प्रहरीको विस्तृत धारणा र अनुसन्धान प्रक्रियाको विवरण सार्वजनिक हुन बाँकी छ। यसअघि प्रसाईंका पक्राउहरूमा अदालतबाट समेत पक्राउको कारण र कानुनी प्रक्रियाबारे प्रश्न उठिसकेको पृष्ठभूमिमा यसपटकको अनुसन्धान पनि त्यसैगरी कानुनी परीक्षणको विषय बन्ने वा नबन्ने हेर्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट