अख्तियारले मुद्दा चलाए मन्दिरभित्रै आत्महत्या गर्ने पशुपति विकास कोषका सदस्य सचिवको चेतावनी

काठमाण्डौं– पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा भएको भनिएको भ्रष्टाचार प्रकरण फेरी चर्चामा आउन थालेको छ। जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने तयारी गरेपछि यो विषय फेरी चर्चामा आएको हो।

मुद्दा दर्ता गर्ने अख्तियारको तयारीपछि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले मुद्दा दर्ता भए पशुपति मन्दिर भित्रै आत्महत्या गर्ने घोषणा गरेका छन्। यता, उनकी श्रीमती सुमित्राले पनि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको खुलेको छ ।

सुमित्राले आफ्नो श्रीमानको ज्यान जोखिममा परेको भन्दै बिहीबार आयोगमा उजुरी दिएकी हुन् । दर्ता नम्बर ७६६ रहेको निवेदनमा उनले ‘मेरो परिवारको ज्यान सुरक्षा गरी मानव अधिकारको रक्षा गरी पाउँ’ भन्दै अनुरोध गरिएको छ।

आफनो श्रीमानले कुनै गल्ती नगरे पनि अख्तियारले मुद्दा चलाउने धम्की दिएर सामाजिक मर्यादामा आँच पुर्याउन खोजेको निवेदनमा जिकिर गरिएको छ। यतिमात्रै होइन उनले श्रीमानले आत्महत्या गर्ने कुरा गर्न थालेको भन्दै जिउज्यानको सुरक्षा माग गरेकी छन् ।

सदस्य सचिव डा थापाले न्याय नपाए मन्दिर परिसर भित्रै आत्महत्या गर्ने लिखित घोषणा नै गरेका छन्। उनले आफुले आत्महत्या गर्नु पर्ने अवस्था आए त्यसका जिम्मेवारहरुको नामावली पनि सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

अख्तियारले पूर्वाग्रहीपूर्ण ढंगले मुद्दा दायर गर्ने तयारी गरेको दावी सहित असोज २ गते राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा दिईएको निवेदनमा सत्यतथ्य छानबिनका लागि उनले संसदीय समितिको माग गरेका छन्।

आयोगले सबैको रोहबरमा जोख्दा सुन पुगेपनि पुनः मुद्दा दर्ताको तयारी गरेको भन्दै निवेदनमा आपत्ति जनाईएको छ। जलहरीको विषयमा पशुपति क्षेत्र विकास कोषकै कर्मचारीहरु, अन्य पूर्व पदाधिकारीहरु तथा मारवाडी सेवा समितिका अध्यक्ष कैलास गोयल लगायतका माफियाहरुको स्वार्थ नमिल्दा उजुरी हाल्ने काम भइरहेको थापाले निवेदनमा उल्लेख गरेका छन्।

अख्तियारले ०८० असार १० गते जोख्ने र सुनको शुद्धता परीक्षण गर्दा नेपाल राष्ट्र बैंकबाट खरिद गरिए अनुसारको तौल र शुद्धता पुगेको तर, हाल अनुचित ढंगबाट वयान लिने, वयानका प्रश्नहरुमा सुन हराएकोले किन कारबाही नगर्ने ? किन मुद्दा दायर नगर्ने ? भन्दै मानसिक रुपमा तनाव दिने कार्य गरेको उजुरीमा उल्लेख छ ।

उनले अख्तियारका कर्मचारीले घुसका लागि वार्गेनिङ गरेको र त्यसमा आफु लगायत कर्मचारीले वास्ता नगरेपछि मुद्दा दर्ताको तयारी भएको पनि निवेदनमै खुलाएका छन्। ‘कारवाहीको प्रश्न उठ्नु र उठाउनु स्वभाविक नै हो । तर सुन हराएको उजुरी परेपछि जोखेर नाप जाँच गर्दा परिमाण पुगेपछि पनि पुनः सोही विषयलाई पूर्वाग्रही ढंगबाट अख्तियारले मुद्धा दायर गरे उक्त विषय प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुन जान्छ भने मेरो स्वतन्त्रताको हक माथि अंकुश लाग्छ।’ उनले भनेका छन्–‘गलत नगरी भगवान् सम्झेर सेवा गर्दा पनि संवैधानिक आयोगले मुद्धा चलाउने पूर्वाग्रहीको सिद्धान्त अनुरुप हुन्छ । यसरी मुद्धा नचलाउने हो भने हामीलाई व्यक्तिगत रुपमा सहयोग गर्नुपर्ने भन्दै कोषका कर्मचारी र पदाधिकारीहरुलाई आयोगका कर्मचारीले बार्गेनिगं गर्ने गरेकोमा कोषका कर्मचारीहरुले वेवास्ता गरेपछि मुद्धा चलाउने तयारी गरेको हामीले बुझेका छौं ।’

अख्तियारले अन्य विषयमा पनि पटक पटक तनाव दिई अनावश्यक तरिकाबाट वयान लिई कोषमा काम गर्न समेत निरुत्साहीत पार्ने गरेको थापाले जनाएका छन्। कोषमा काम गर्ने वातावरण सिर्जना नभएको निवेदनमा उल्लेख छ।

निवेदनको पेज नं. ७ र ८ मा भनिएको छ–‘यो अपिल सदस्य सचिव पद जोगाउनका लागि मात्र होईन, यो आत्मसम्मान, न्याय र स्वाभिमानका लागि अपिल गरेको गुनासो हो । यसरी राज्यले सेवकलाई निरुत्साहित गराउने हो भने आगामी समयमा देशभक्त कर्मचारीहरु तथा राजनितिक नियुक्ती पाएका देशका सेवकहरुको मनोवल गिर्छ र राज्यका कारण नै नागरिकहरुले आत्मदाह र जीवन प्रति नै निराश हुन पर्ने स्थिति आएको छ । म आफू पनि यही सोचिरहेको छु कि यदि गलत नगर्दा नगर्दै राज्यले मलाई दण्ड दिने कार्य गर्यो भने न्याय पाईन भने र यसै कारण अन्य विषयमा समेत बदलाको भावनाले मलाई फसाईयो भने, पशुपतिनाथकै मन्दिर भित्रै मेरो प्राण त्याग्ने विकल्प छैन । यदि यसो गर्दा गर्दै पनि मलाई आत्मसम्मान र मौलिक हकमा ठेस लाग्ने गरी कारवाही गरेमा मलाई प्राण त्याग गर्न बाध्य बनाउनेहरुको नाम सार्वजनिक गर्नेछु ।’

सुनको जलहरी १०८ केजीको राख्ने योजना अनुसार नेपाल राष्ट्र बैकबाट १०३ किलो ७७३.१०० ग्राम सुन खरिद गरिएको थियो । जसमा घोटाला भएको भन्दै अख्तियारले छानबिन गर्दै आएको छ । तर कोषले कुनै घोटाला नभएको जिकिर गर्दै आएको छ । ०८० असार १० गते जोख्ने र सुनको शुद्धता परीक्षण गर्दा सबै ठीकठाक देखिएपनि अनावश्यक टर्चर दिने काम भएको थापाले दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट