सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाई, आउला अन्तिम फैसला ?

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज सुनुवाई हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा रहेको बालिका बलात्कार मुद्दाको सुनुवाइ गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको थियो।
लामिछानेविरुद्ध एक किशोरीले बलात्कार आरोप लगाउँदै ०७९ भदौ १६ गते काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी थिईन। ०८९ भदौ ५ गते होटलमा राखेर बलात्कार गरेको ती किशोरीको आरोप छ।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गए। यता काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी दर्ता भयो।
लामिछाने असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने किशोरी बालिका नभएर १८ वर्ष उमेर पूरा भइसकेको प्रमाणका रुपमा केही कागजात समेत पेस गरेका थिए।
उक्त मुद्दाको थुनछेक बहसपछि ०७९ कात्तिक १८ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्लाको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिए।
पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गर्यो। विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उच्चको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने दुवै सर्वोच्च पुगे। सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।
यो मुद्दामा प्रमाण जुटाउने प्रक्रिया पूरा भएर अन्तिम सुनुवाइमा चढेको गत माघदेखि हो। त्यसयता १ दर्जनभन्दा वढि पटक पेसीसूचीमा चढेको छ। तर, मुद्दा किनारा लागेको छैन। यो मुद्दामा फैसला गर्न न्यायाधीशहरु नै तर्किरहेको अवस्था छ।
नाबालिग बलात्कारजस्तो निरन्तर सुनुवाइ गर्नुपर्ने, त्यसमाथि सर्वोच्च अदालतले समेत फास्ट–ट्रयाकमा सुनुवाइ गर्न आदेश दिएको मुद्दामा ढिलासुस्ती भएकोमा पीडित पक्षले असन्तुष्टि जनाएको छ। घटना भएको एक वर्ष र अदालतमा मुद्दा पुगेको १० महिना बितिसक्दा पनि पन्साउँदै जाने प्रवृत्ति देखिएको उनीहरुको भनाई छ।