गौशालामा दिउँसै गोली हानेर आक्रमणकारी फरार, प्रहरीले हुलिया पत्ता लगाउनै दिन वितायो
काठमाडौं– बाराको कलैया नगरपालिका– १२ घर भई कोटेश्वर बस्दै आएका साबिर हुसेनमाथि सोमवार दिनदहाडै गोली प्रहार भएको छ।
गौशालामा पीके डायग्नोष्टि सेन्टर सञ्चालन गर्दै आएका हुसेनलाई अज्ञात ब्यक्तिले गोली प्रहार गरेको हो।
काठमाडौंको तिलगंगास्थित वाग्मती करिडोरमा रहेको एक घरमा उनीमाथि गोली प्रहार भएको जनाईएको छ। घट्नास्थलबाट कटुवा पेस्तोल र चक्कु बरामद भएको छ।
घटनास्थलबाट पेस्तोल र चक्कु दुवै बरामद भएकाले उनीमाथि केले आक्रमण गरियो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।
गोली प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज भर्ना गरिएको छ। अन्दाजी ३८ वर्षका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
हुसेनमाथि आक्रमण गर्नेले कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको कपडा लगाएको तराई मुलको जस्तो देखिने व्यक्ति रहेको प्रहरीले जनाएको छ।