नेपालगञ्जमा कर्फ्यूका बीचमा पनि हिन्दु मुस्लिम झडप भएपछि सेना परिचालन

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा हिन्दु मुस्लिम झडपले उग्र रुप लिएको छ। सामाजिक सद्भाव विग्रिन नदिन स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू जागरी गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन।
कर्फुयूकै बीच दुई समूहबीच झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ । नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो ।
अहिले झडप रोकिएको छ । ठूलो संख्यामा गल्ली–गल्लीमा प्रहरी परिचालित छन् । बाँकेका सीडीओ विपिन आचार्यले शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको बताए ।
दुवै समूहलाई छलफलका लागि बोलाइएको भएपनि अहिलेसम्म कोही नआएको र प्रयास जारी रहेको उनले जानकारी दिए । तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।
सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र मङ्गलबार ॐकार परिवकारको ¥यालीको क्रममा विवाद भई तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको प्रशासनले जनाएको छ।
नेपालगञ्जका उपमेयर कमरुद्दीन राईका अनुसार जार्बुद यादव नामको फेसबुक आइडीबाट एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम समुदायले गाई काटेको भनेर पोस्ट गरे। उनका अनुसार उक्त कुरालाई इस्लाम धर्मगुरुले प्रतिवाद गरेका थिए। धार्मिक निन्दा गरिएको त्यो टिप्पणीबाट मुस्लिम समुदाय तरंगित हुनपुग्यो ।
सोही फेसबुक स्टाटसबाट बढेको तनाव बढ्दै जाँदा मंगलबार नेपालगञ्जमा दुई समुदायबीच झडप र कर्फ्यू लाग्ने स्थितिमा आइपुगेको छ । दुई समुदायलाई आमनेसामने ल्याउन नेपालगञ्ज उपमहानगरपालिका–५ का वडाध्यक्ष सराफत खानको मुख्य भूमिका देखिएको प्रहरी स्रोत बताउँछ ।
जथाभावी स्टाटसविरुद्ध खानको नेतृत्वमा असोज १४ गते एउटा पक्षले नेपालगञ्जमा प्रदर्शन ग¥यो । सो पक्षले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्को समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडेपछि अर्को पक्ष बिरोधमा उत्रियो ।
यसैबीच, कलुवा नामको टिकटक आईडीमा हिन्दूप्रति गालीगलौंच गरेको भिडियो भाइरल भइसकेका थियो । जसपाबाट निर्वाचित वडाध्यक्ष खान स्वयं अर्को समुदायविरुद्ध उत्तेजना फैलाउनेगरी अभिव्यक्ति दिएपछि नेपालगञ्जमा योजनाबद्ध विरोध प्रदर्शनको तयारी हुन थाल्यो ।
सो घटनाबारे जसपाको आधिकारिक धारणा मागियो । वडाध्यक्ष खानले माफी माग्नुपर्ने अडान अर्को पक्षको रह्यो । तर, त्यसका लागि उनी तयार भएनन् । यहीबीचमा मंगलवार ओमकार परिवारले नेपालगञ्ज बन्द आव्हान ग¥यो ।
बागेश्वरी मन्दिर पूर्वी गेटबाट निस्केको ओमकार परिवारको जुलुस सेतु बिक चोक, धम्बोझीहुँदै वीपीचोक पुग्दासम्म शान्त नै थियो । जुलुसमा सिसा प्रहार भएपछि सहभागीको भागाभाग भयो। त्यसपछि झडपको स्थिति आयो । वीपीचोक र इदगाह रोडमा दुई पक्षबीच ढुंगा हानाहान गरेपछि नियन्त्रण गर्न प्रहरीले एक दर्जन पटक हवाई फायर गरेको थियो ।