इजरायलमा भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

काठमाडौं– इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले घाइते भएका ७ जना नेपालीको मृत्यु भएको बताए।

उनले स्थानीय सोसियल वेलफेयरलाई उदृद्ध गर्दै बताए अनुसार इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा उनीहरुको मृत्यु भएको हो।

मृत्यु भएका सबैलाई आतंककारी समूहको गोली लागेको थियो । कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।

नेपाली दूतावास इजरायलले मृत्युबारे औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन । घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ ।

दुतावासका अनुसार घाइते ३ जना अस्तालमा भर्ना भएकामा एक जना चाहिँ डिस्चार्ज भएका छन् । यस्तै दुई जना अहिलेसम्म बंकरभित्रै सकुसल रहेका छन् । उनीहरुलाई आइतबार कार्यरत कम्पनीले खानेकुरा लगेर दिएको जानकारी आएको जनाईएको छ।

नेपाली समय अनुसार शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । हालसम्म सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु र घाइते भएका तथा केही मानिसहरुलाई हमास समूहले अपहरण तथा बन्धक बनाएको बताइएको छ ।

इजरायलमा हाल ४५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए।

यी मध्ये सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरु नै आक्रमणमा परेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट