जनपथका डीएसपी सशस्त्र प्रहरी अधिकृतको कठालो समाउन पुगेपछि…

काठमाडौं– संघीय निजामती सेवा विधेयकमा असन्तुष्टि जनाउँदा स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा छन्। असोज १५ गतेदेखि सुरु भएको उनीहरुको आन्दोलन निरन्तर जारी छ। उनीहरुको मंगलवबार पनि प्रदर्शन जारी राखेका छन्।
कर्मचारीको आन्दोलनले सर्वसाधारणको काममा प्रभाव परेपनि सरकारलाई कुनै प्रभाव परेको देखिएको छैन। वरु यो आन्दोलनका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा भने लफडा परेको छ।
सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि स्थानीय तहका कर्मचारी र प्रहरीबीच ठेला ठेल भयो। प्रहरीले पानीको फोहोरा प्रहार गरेर आनदोलनकारीहरुलाई तितरबितर पारे। तर,कर्मचारीहरूले पनि प्रहरीमाथि ढुङ्गा प्रहार गरे।
त्यसपछि कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्यो। त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कर्मचारीमाथि लाठी चार्ज गर्यो । जनपथ प्रहरी केही संयमित देखिएपनि सशस्त्र प्रहरी भने निर्मम रुपमा प्रस्तुत भयो।
सशस्त्र प्रहरीले कर्मचारीमाथि लाठी वजारे। त्यहीबीच नगर प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन दिए। उनको निर्देशन जनपथले त कार्यान्वयन गर्यो। तर, सशस्त्र प्रहरीले वास्ता गरेन। त्यसपछि रुष्ट भएका खड्का सशस्त्र प्रहरीका अधिकारीको कठालो नै समाउन पुगे।
अन्य प्रहरी र अधिकृतले उनीहरुलाई छुट्याए। त्यसपछि उनले आफ्नै प्रहरी कर्मचारीलाई पनि लाठी नहान्न निर्देशन दिए ।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय तदर्थ समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित प्रदर्शन गरिरहेको छ।
समितिले दबाबमूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यकभन्दा बाहेकका सबै कामकाज बन्द गर्ने र काठमाडौँ आउन नसक्ने कर्मचारीहरूले स्थानीय तहमै विरोधको कार्यक्रम गर्दै आइरहेको छन्।