अमरेश सिंहले माओवादी सांसदलाई वैठकमै ‘गुण्डा’ भन्दै थर्काएपछि…

काठमाडौं– असोज २४ गते बुधबार प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध क्रुद्ध भए। उनले सरकारको तिव्र आलोचना गरे। यतिमात्रै होईन, प्रधानमन्त्री दाहालको धारावाहिक आलोचना गर्न थालेपछि माओवादी सांसद राजन दाहाल (लेखनाथ) ले उनलाई रोक्न खोजे।
राजनले ‘समय सकियो’ भन्दै रोक्न खोजेपछि सिंहको आक्रोश झनै वढ्यो। उनी राजनमाथि नै जाईलागे। ‘मलाई रोक्ने तपाई को हो ? ..सरकारको पक्ष नलिनुस्, सरकारी पक्षले लुटिरहेको छ, जनता पीडामा छ । ..तपाईं पहिलोचोटी सांसद भएको आफ्नो स्थानमा बस्नुस्, संसदीय समितिको नियम छ, बीचमा टोक्न पाइन्छ ?’ उनले दाहाललाई हप्काउँदै भने–‘सभापतिको अधिकार छ, यो माओवादी तन्त्र हिजोका तपाईंको गुण्डातन्त्र होइन, जंगलमा लुटेर आएको जस्तो होइन, चल्दैन ।’
अमरेशले राजनलाई ‘गुण्डा’ भनेर थर्काएपछि उनको बारेमा अहिले धेरैले चासो गरिरहेका छन्। अमरेशकै भनाई अनुसार राजन दाहाल राजमार्गमा ढाट राखेर असुली धन्दा गर्दै अगाडि आएका हुन। उनले कुटपिट गरेर अंगभंग भएका व्यक्तिहरुलाई त्यसबेला आफूले भेटेको समेत सिंहले दावी गरेका छन्।
जानकारहरुका अनुसार राजनले कुनै समय रामेछाप र सिन्धुलीमा आतंक नै मच्चाएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनको आतंकले प्रशासन समेत थर्कमान थियो। सिन्धुली घर भएका उनलाई पार्टीले रामेछाप जिल्ला इन्चार्ज बनाएको थियो। उनले पहिलोपटक एमालेका तत्कालीन जिल्ला सचिव देवशंकर पौडेललाई हमला गरेर गुण्डागर्दीको सिलान्यास गरेका थिए।
०६३ सालमा साँघुटार बजारमा संगठनको कामले पुगेका पौडेललाई दाहालको निर्देशनमा माओवादी कार्यकर्ताले मोसो दलेर जुत्ताको माला लगाए। उनले अर्का नेता जगन्नाथ दाहाललाई पनि आक्रमणको प्रयास गरे तर सफल भएनन्।
संविधान सभा निर्वाचनको बेला त राजनले पौडेललाई मार्नेनै उदेश्य वनाएका थिए। पौडेल एमालेबाट उम्मेदवार थिए । राजन दाहालले एमालेका उम्मेदवार र प्रचारमा हिँड्ने नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही खुट्टा भाँच्ने सार्वजनिक चेतावनी दिइसकेका थिए । चुनाव प्रचारकै सिलसिलामा कुबुँकास्थलीबाट तल झरेको एमाले टोलीमाथि राजनको निर्देशनमा सयौंका संख्यामा माओवादीले आक्रमण गरे ।
पौडेललाई मार्ने उद्देश्यले भिरबाट लडाउन खोज्दा उनी संयोगले बाँचे । एमाले नेता केपी शर्मा ओलीले हेलिकोप्टरबाट उद्दार गरेर उनको ज्यान वचाए। सोही चुनावमा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार कैलाश ढुंगेलमाथि ज्यान मार्ने प्रयास गरे।
चुनावमा उनी आफैं हतियारसहित हिँडेर ठाउँ ठाउँमा बुथ कब्जा गरे । उनले त्यसबेलाका हरेक विकास आयोजनाबाट २० देखि ४० प्रतिशत रकम लिएर मन्थलीमा ४/५ सय जना पूर्णकालीन कार्यकर्ता पाल्ने गरेका थिए ।
राजनले एमाले महासचिव ईश्वर पोखरेलसहितका करिब आधा दर्जन नेताहरूलाई पनि मार्न खोजेका थिए। तिल्पुङ गाविसको भीरबाट ढुंगा लडाएर हत्या प्रयास गरेपछि उनलाई पार्टीले आन्तरिक कारवाही गरेर रामेछापबाट फिर्ता लगेको थियो ।
सो घटनापछि सिन्धूली सरुवा भएका दाहालले सिन्धुलीमा गएपछि पनि झाँगाझोलीमा एमालेको ३ नम्बर क्षेत्रीय अधिवेशन उद्घाटनमा जान लागेका नेताहरूमाथि आक्रमण गरेका थिए। दाहाल र उनकी श्रीमती दीपाको नेतृत्वमा पेस्तोल, बन्दूक र रड सहित आक्रमण गरेर केन्द्रीय सदस्य केशव देवकोटा, युवा संघ नेपालका तत्कालीन अध्यक्ष महेश बस्नेत, रामेछापका एमाले नेता ज्ञानकुमार श्रेष्ठ लगायतलाई कब्जामा लिएका थिए ।
त्यसबेला एमालेका जनकपुर इन्चार्ज रामचन्द्र झा भने राजन दाहालको कब्जाबाट भागेर बाँच्न सफल भएका थिए ।
त्यसबेला दाहालमाथि बनेपा–बर्दिबास सडक खण्डका ठेकेदारहरूसँग पैसा उठाउने गरेको आरोप लागेको भन्दै तत्कालीन माओवादी पोलिटब्यूरो सदस्य एवं जनमुक्ति सेनाका डेपुटी कमाण्डर चन्द्रप्रसाद खनाल बलदेवले नेतृत्वसमक्ष जानकारी गराएका थिए ।
२०६५ वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राजन दाहालले रामेछाप जिल्लाका विभिन्न गाउँ र चौतारा तथा विद्यालयहरूमा सूचना टाँसी कांग्रेस र एमालेलाई एक साताभित्र गाउँ छाड्न उर्दी दिंदै आक्रमण गरेपछि कारबाहीमा समेत परेका थिए ।