टिकटक बन्द गर्ने सरकारको निर्णय विवादमा, महेश वस्नेतले गरे स्वागत

राजविराज– सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको छ। आम मानिसमाझ लोकप्रिय भएको टिकटक सोमबारको मन्त्रिपरिषदले गरेको निर्णयसँगै बन्द भएको हो।

टिकटकबाट लगातार सामाजिक सद्भाव बिथोलिने गरी र पारिवारिक संरचना तथा सम्बन्धलाई खल्बल्याउने गरी प्रचारप्रसार भइरहेकाले बन्द गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन।

निर्णयलगत्तै तिहारको सार्वजनिक विदाका कारण बन्द भएको सञ्चार मन्त्रालयमा उच्चपदस्थ अधिकारीहरु पुगेर मन्त्रिपरिषदको निर्णयका आधारमा पत्र तयार गरेका थिए।

त्यो पत्र केही घण्टामै नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुलाई पत्राचार गरेर सेवाग्राहीले टिकटक प्रयोग गर्न नमिल्ने बनाइदिएपछि सरकारको निर्णय कार्यान्वयन हुनेछ ।

सरकारको यो निर्णय विवादमा परेको छ। सत्ता गठवन्धन दल नेपाली कांग्रेसका दुवै महामन्त्रीले यसको कडा प्रतिवाद गरेका छन् भने रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितले विरोध जनाएका छन्।

एमाले महासचिव शंकर पोखरेल, नेता सुर्य थापा लगायतले पनि सरकारले उल्टो बाटो समाएको भन्दै टिकटक वन्द गर्ने निर्णयको विरोध गरेका छन्। तर, एमाले नेता महेश वस्नेतले भने सरकारको निर्णयको स्वागत गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गर्नुपर्ने धारणा राखेका छन् ।

‘नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामजिक संजाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरुलाई कारबाहीको दायरामा ल्याओस’, बस्नेतले लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट