दुर्गा प्रसाईलाई प्रहरी लगाएर थुनाउने कोशी प्रदेशका मुख्यमन्त्रीको धम्की

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र मेडिकल ब्यवसायी दुर्गा प्रसाईँबीच विवाद भएको छ।

उर्लाबारीस्थित सुन पसलमा आगलागीमा परेर घाइते भई झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत विरामीलाई अस्पतालबाट निस्कन नदिएपछि दुई जनाबीच विवाद भएको हो।

आगलागीमा परी घाईते भएका १२ जनालाई उपचारका लागि विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालमा उर्लाबारी– ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलासहित उपचाररत थिए।

ती मध्ये १० जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजाने तयारी भए पनि बीएण्डसीले उपचार गर्दा लागेको खर्च जम्मा गर्न दबाब दियो। त्यसपछि मुख्यमन्त्री केदार कार्की आज बिहान आफैं बीएन्डसी अस्पताल पुगे। उनले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि दशै जनालाई काठमाडौं लाने बताए ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएरमात्र लैजान भनेपछि मुख्यमन्त्री कार्की र प्रसाईंबीच विवाद भएको थियो। प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिए।

मुख्यमन्त्री कार्कीले प्रसाईंसँग विवाद भएको बताए। संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको उनको भनाई थियो।

अन्तिम समयमा घाइते भएका १० जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनीहरूलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत् बुधबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी दुर्गा रेग्मीले जानकारी दिए।

लक्ष्मीपूजाको दिन आइतबार राति उर्लाबारी ७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भई ग्यास सिलिण्डर विष्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए। आगलागीमा परेर घाइते भएकामध्ये पाँच जनाको स्वास्थ्य अवस्था जटिल छ।

राति साढे १० बजे भएको घटनामा घाइतेमध्ये उर्लाबारी नगरपालिका वडा नम्बर ७ का कुमार तामाङ, शिवकुमार विक, सुमन चौधरी, कैलाश गुरुङ, रामनरेश मरिकको स्वास्थ्य अवस्था गम्भीर रहेको रहेको जनाईएको छ।

घाईते मध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट