राजावादीलाई प्रचण्डको प्रश्नः ‘नारायणहिटी हत्याकाण्ड’ कसले मच्चायो?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले दमौली पुगेर राजदरबार हत्याकाण्डका विषयमा राजावादीहरुलाई प्रश्न गरेका छन्। शुक्रवार तनहुँको आँबुखैरेनी अस्पतालको उदघाटन गर्दै उनले नारायणहिटी हत्याकाण्ड कस्ले मच्चायो ? भन्दै प्रश्न गरे।

हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेको दाबी गर्दै उनले भ्रामक प्रचार र व्यवस्थाविरोधी षड्यन्त्र असफल पार्नुपर्ने र जनता न्यायाधीश भएकाले उनीहरूले असफल पार्ने बताए।

‘उनीहरू सङ्घीयताका विरुद्ध, गणतन्त्रका विरुद्ध, समावेशी–समानुपातिक प्रणालीका विरुद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन्’ उनले भने–‘लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो।’

गणतन्त्रअघि सुव्यवस्था, विकास र प्रगति थियो ? भन्दै उनले अहिले संस्कारको कुरा गरिरहेका शक्तिको संस्कार के हो? भन्दै प्रश्न गरे। ‘कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? हजारौँ नेपालीमाथि दमन कसले गर्यो?’ उनले भने–‘जो सबैभन्दा बढी तानाशाह छन्, फासिस्ट छन्, विकासविरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने?’

संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै उनले सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने दाबी पनि गरे। प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै उनले यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुने जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट