घाँस काट्न सघाईदिने भन्दै वृद्धाको हत्या गरेर गहना लुटपाट गर्ने डगौरा पक्राउ

कञ्चनपुर– जंगलमा घाँस काट्न गएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या सुनका गहना लुटपाटका लागि भएको खुलेको छ। हत्या आरोपमा शुक्लाफाँटा– ७ कै महेश डगौरा पक्राउ परेका छन्।
१९ कात्तिकमा डगौराले घाँस काट्न सघाइदिने भन्दै एक्लै जंगल गएकी नारुदेवीको पिछा गरेर हत्या गरेको प्रहरीले जनाएको छ। नारुदेवीले लगाएका गहना सक्कली वा नक्कली हो भन्ने सोधपुछपछि यकिन गरेर घाँटी च्यापेर हत्या गरेको उनले स्वीकार गरेका छन्।
हत्यापछि वृद्धाले लगाएको सुनको गहना लुटपाट गरेर उनी बिक्रीका लागि कैलालीको धनगढी पुगेको अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनी २० कात्तिकमा धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई बेंग्लोर भागेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाका अनुसार प्रहरीले विभिन्न व्यक्तिसँग समन्वय गरेर भारतमा रहेका महेशलाई बोलाई १ मंसिरमा पक्राउ गरेको थियो। महेशसँगै सुन बेच्न जाने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन किन्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतीलाई पनि प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ।