केपी ओली कपः विभागिय टीम एपिएफपसँग लुम्बिनी पराजित, ऐरी एक्लैको ५ विकेट

पोखरा– पोखरा रंगशालामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको शनिवार सम्पन्न खेलमा लुम्बिनी प्रदेश विभागिय टीम सशस्त्र प्रहरी बल (एपीएफ) सँग ८४ रनले पराजित भएको छ।

१ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमा समेटिएको थियो। लुम्बिनीलाई सस्तोमा समेट्न एपीएफका अरुण ऐरीले ५, भुवन कार्कीले २, अभिनास बोहरा र अमर रौटालाले १–१ विकेट लिए ।

ब्याटिङमा लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोडे भने रोशन गुप्ताले अविजित १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो। एपीएफका लोकेश बमले बमले १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन जोडे।

कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले २–२ विकेट लिए।

एपिएफ आफनो पहिलो खेलमा गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो। समूह बीमा एपीएफ र गण्डकीको २–२ अंक र लुम्बिनी अंकबिहीन छ। सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ।

गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ। लुम्बिनीले जित निकालेको खण्डमा रनरेट धेरै भएको टिम सेमिफाइनलमा प्रवेश गर्नेछ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट