एनआईसी एशिया बैंकको पौने ३ करोड घोटालाका मुख्य आरोपी यादव प्रहरी नियन्त्रणमा

राजविराज– एनआईसी एसिया बैंक राजविराज शाखामा भएको पौने ३ करोड रुपियाँको घोटालामा संलग्न बैंकका तत्कालीन प्रबन्धक सन्तोषकुमार यादवले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। घट्नाको ८ महिनापछि उनी आईतबार प्रहरी समक्ष हाजिर भएका हुन।

गत वैशाखको दोस्रो साता पक्राउ पुर्जी जारी भएसँगै बैंकबाट निलम्बित भएका यादव फरार थिए। प्रबन्धक यादवसहितका एक दर्जन व्यक्तिविरुद्ध सरकारी कागजात, छाप र हस्ताक्षर कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।

अर्काका नाममा रहेको जग्गाको नक्कली जग्गाधनी प्रमाण बनाइ बैंकबाट ऋण उठाएको २३ माघ ०७९ मा खुलासा भएको थियो। वास्तविक जग्गाधनी राजविराज नगरपालिका ८ बस्ने रवीन्द्र यादवले रोक्का राखेको जग्गा धितो राखेर बैंकले ऋण दिएको थापा पाएपछि घट्ना सार्वजनिक भयो।

बैंकका प्रबन्धक यादवले केही सहकर्मी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अप्रेटरसँग मिलेर किर्ते जग्गा धनी प्रमाण पत्र बनाई पौने ३ करोड रुपैयाँ घोटाला गरेका थिए।

यादवको नाममा रहेको जग्गा राजविराज–९ का वसिरन खातुनको नाममा नक्कली लालपूर्जा तयार गरिएको थियो। सोही नक्कली जग्गाधनी प्रमाणका आधारमा एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा भुक्तानी समेत दिइएको थियो।

किर्ते गरी बनाइएको सोही नक्कली जग्गा धनी प्रमाण–पत्रको आधारमा बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो। राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा आसमा खातुनका नाममा दर्ता रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई बैंकले माघ ९ गते सो ऋण प्रवाह गरेको थियो।

आसमाले उनका श्रीमान् सद्दामको मोबाइल पसल मूल्याङ्कन गराएर ऋण लिएकी थिइन्। नक्कली जग्गाधनी बनाइएकी बसिरन खातुन ऋणी आसमाकी सासु तथा सद्दामकी आमा हुन।

वास्तविक जग्गाधनी यादवले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित साविक प्रसवनी गाविस–९ (ग) को कित्ता नम्वर २२१ (९ को ख) को १० कठ्ठा ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण लिएका छन्।

सिटिजन बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गाको नक्कली कागज धितो राखेर एनआइसी एसिया बैंकले २ करोड ३० लाख रुपैयाँ ऋण दिएको अनुसन्धानबाट खुलेको थियो। कर्मचारीसहितको मिलेमतोमा पहिलेदेखि नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै नक्कली जग्गाधनी प्रमाणपत्र बनाएर ऋण निकालिएको अनुसन्धानबाट देखिएको छ।

वास्तविक जग्गाधनी यादवले थाहा पाई घटना बाहिरिए लगत्तै बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी र व्यवसायीहरू फरार भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट