सरकारी क्वाटरमै ‘अश्लील हर्कत’ गर्ने उपसचिव डमरुप्रसाद मधेस छिरे

राजविराज– दमक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छँदा एक महिलासँग अश्लील क्रियाकलाप गरेका कारण मन्त्रालय तानिएका उपसचिव डमरुप्रसाद निरौला फेरी मालदार अड्डामा सरुवा भएका छन्।
आचारण विपरितको काम गरेर विवादित वनेका उनलाई भूमि व्यवस्था मन्त्रालयले आकर्षक कार्यालयको जिम्मेवारी दिएको छ। मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।
पर्सा मालपोत कार्यालय आकर्षक कार्यालय मानिन्छ। त्यहाँ जान प्रशासन समूहका कर्मचारीहरूको तँछाड–मँछाड चल्छ। भूमि व्यवस्था सचिव गोकर्णमणि दवाडी निरौलालाई उक्त कार्यालयमा पठाउँन तयार थिएनन्। तर, मन्त्री रञ्जिता श्रेष्ठको स्वार्थमा उनी त्यहाँ पुगेको स्रोतको दावी छ।
विवादित भएका कारण निरौलालाई सकेसम्म महत्वपूर्ण ठाउँमा नपठाउँने सचिवको अडान थियो। तर, निरौलाले भूमि व्यवस्थामन्त्री श्रेष्ठसम्म पहुँच पुर्याएर पर्सा जान सफल भएको मन्त्रालयका एक कर्मचारीले बताए।
झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा सरकारी क्वाटरमै एक युवतीसँग अश्लील हर्र्कत गरेको भीडीओ गत १३ साउनमा सार्वजनिक भएको थियो। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन उनलाई निर्देशन दिएको थियो।
त्यसको करिब ४ महिनासम्म निरौला जिम्मेवारी विहिन भएर मन्त्रालमा बसे। कात्तिकमा उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरि महत्वपूर्ण जिम्मेवारी दिइएको स्रोतको दावी छ। उनले तिहार अघि नै मालपोत कार्यालय पर्सामा काम सुरु गरिसकेको कार्यालयका सूचना अधिकारी राजेश्वरप्रसाद तेलीले जानकारी दिए। कार्यालयको वेबसाईटमा भने अझै पनि प्रमुखको नाम परिवर्तन गरिएको छैन। वेबसाईटमा मो. इजहार आलमकै नाम राखिएको छ।