राष्ट्रिय अनुशन्धानमा जागिर खाएको एक महिनापछि नियुक्तीपत्र नै नक्कली भएको खुलेपछि…
नेपालगञ्ज– बेरोजगारी युवालाई राष्ट्रिय अनुशन्धान विभागको नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगन्ज–२२ नहरपुर्वाका फहद खाँलाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका–१७ का प्रदिप बर्माले दिएको उजुरीका आधारमा खाँ पक्राउ परेका हुन। जसरी पनि सरकारी जागिर खाने निधो गरेका बर्मा त्यही सिलसिलामा खाँको सम्पर्कमा पुगेका थिए।
खाँले बर्मालाई सजिलैसँग सरकारी जागिर खुवाउने आश्वासन दिए र बर्मासँग रहेका आवश्यक कागजात मागरेर सरकारी छाप किर्ते गरेर राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तीपत्र दिए। जागिर खुवाए वापत बर्माले २३ भदौमा खाँलाई २६ हजार दिए।
नियुक्तीपत्र पाएपछि उनले राष्ट्रिय अनुसन्धानका लागि फिल्डमा खटिएर काम गर्न सुरु गरे। जागिर सुरु गरेको जब महिना दिन पुग्यो, बर्माले तलब माग्न थाले। त्यसपछि खाँ सम्पर्कमा नै आएनन्। आफूलाई सरकारी छाप किर्ते गरेर नक्कली नियुक्तीपत्र दिएको कुरा बर्माले तब मात्र थाहा पाए।
वास्तविक कुरा थाहा पाउँदा बर्मालाई मर्नु न बाँच्नु भयो। उनी प्रहरीको सम्पर्कमा पुगे। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेले खाँलाई खोज्न सुरु गर्यो। राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिने भन्दै ठगी गर्ने खाँ अन्ततः प्रहरीको फन्दामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले बताए।
उनलाई पक्राउ गरी कारवाही प्रकृया अघि वढाईएको डाँगीले जानकारी दिए। आरोपी खाँले जागिर लगाईदिन्छु भन्दै अन्य ब्यक्तीलाई पनि ठगेको हुन सक्ने बाँके प्रहरीको आशंका छ।