बढि शुल्क लिएको विरोध गर्ने विद्यार्थीलाई ‘नेता बनेको’ भन्दै प्रअ र अध्यक्षले निर्घात कुटे

राजविराज — मनपरी शुल्क असुल गरेको विरोधमा आवाज उठाउँदा सप्तरीको राजविराज नगरपालिका –१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका दुईजना विद्यार्थी कुटिएका छन्।
विद्यालयका प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले कक्षा १० मा अध्यनरत विद्यार्थीहरु विकासकुमार मण्डल र रोसन साहलाई निर्घात कुटपिट गरेका हुन।
घाईते दुवै विद्यार्थीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भएको छ। उक्त घट्नापछि आक्रोशित विद्यार्थीहरुले प्रधानाध्यापक र अध्यक्षलाई कारबाहीको माग गर्दै शुधबार राजविराजमा प्रदर्शन गरेका छन्।
विद्यालयले अर्धवार्षिक परीक्षा र रजिष्ट्रेसन शुल्कका नाममा मनपरी पैसा उठाएको भन्दै उनीहरुले आवाज उठाएका थिए। सोही विषयमा मंगलबार आफुहरुमाथि कुटपिट गरिएको विद्यार्थीले वताएका छन्।
कुटपिटपछि आफूलाई नांगो बनाएर भिडियो बनाएको र कसैलाई कुटपिटबारे भने भिडियो सार्वजनिक गरिदिने धम्की दिएको उनीहरुको गुनासो छ।
रजिष्ट्रेसन शुल्क वापत कक्षा ९ को तीनसय रुपैयाँ र कक्षा १० को लागि ५ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने प्रावधान छ। विद्यालयले भने रजिष्ट्रेसन फारम वापत कक्षा ९ को ५ सय र कक्षा १० को १ हजार रुपैयाँ लिईरहेको थियो।
उक्त प्रावधान विपरीत रकम लिन थालेपछि विरोधमा उत्रिएका विद्यार्थीहरुको अगुवाई गरिरहेका मण्डल र साह कुटिएका हुन्।
परीक्षा दिन कक्षाकोठामा वसेका बेला जयराम साह नामका शिक्षकले आफनो मोबाइल खोसेर कार्यालयमा लगेको र परीक्षा सकिएपछि मोबाइल लिन जाँदा प्रअ र अध्यक्षले कुटेको बिकासले बताए।
प्रधानाध्यापक र अध्यक्षले भने विद्यार्थीलाई कुटपीट नगरेको दाबी गरे। मोबाइल लिन आउँदा अभिभावकलाई बोलाएर ल्याउनु भनेपछि विद्यार्थीले अभद्रता देखाएको र त्यस क्रममा घम्साघम्सी हुँदा टेबुलमा ठोक्किएर चोट लागेको प्रधानाध्यापक यादवको दाबी छ।
यो विषय जिल्ला प्रहरी कार्यालय सप्तरीसम्म पुगेको छ। सप्तरी प्रहरीका डिएसपी ढुण्डीराज नेउपानेले घटनाबारे दुवैपक्षलाई राखी कुरा बुझ्ने काम भईरहेको बताए।