बिहारको नक्कली प्रमाणपत्र देखाएर बढुवा खाएको आरोपमा अनुसन्धान विभागका प्रमुख अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– भारतको बिहारबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा बढुवा तथा विभिन्न सुविधा लिएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार उनले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विभागको प्रमुख अनुसन्धान अधिकृत अर्थात् राजपत्राङ्कित द्वितीय श्रेणीको पदसम्म बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको हैसियतमा पद, लाभ र सुविधा प्राप्त गरेका थिए।

चौधरीले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका विभिन्न शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ। उनले पेस गरेका कागजातमा मार्कसिट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेट छन्।

अख्तियारले ती प्रमाणपत्र नक्कली रहेको र तिनकै आधारमा चौधरीले सरकारी सेवामा बढुवा तथा पदस्थापनलगायतका लाभ लिएको दाबी गरेको छ। आयोगले उपलब्ध प्रमाण र अनुसन्धानबाट नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रयोग गरी सरकारी पद तथा सुविधा प्राप्त गरेको कसुर पुष्टि हुने ठहर गर्दै मुद्दा अघि बढाएको जनाएको छ।

चौधरीविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको छ।

राष्ट्रिय अनुसन्धान विभाग राज्यको आन्तरिक तथा बाह्य सुरक्षा सूचनासँग सम्बन्धित संवेदनशील निकाय हो। त्यस्तो निकायको प्रमुख अनुसन्धान अधिकृत तहमा पुगेका अधिकारीमाथि नै शैक्षिक प्रमाणपत्र नक्कली बनाएर सरकारी पद र सुविधा लिएको आरोप लागेपछि सरकारी सेवामा शैक्षिक योग्यताको प्रमाणीकरण र बढुवा प्रक्रियामाथि पनि प्रश्न उठेको छ।

अब विशेष अदालतमा हुने सुनुवाइ र फैसलाले चौधरीमाथि लागेको आरोपको कानुनी निरूपण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट