महेन्द्रको सालिकले नेता तर्साएपछि प्रशासनले जारी गर्यो एक हप्ते निषेधाज्ञा

कञ्चनपुर– कन्चनपुरको महेन्द्रनगर बजारका राजा महेन्द्रको सालिक राख्ने विषयमा दलहरूबीच विवाद बढेपछि स्थानीय प्रशासनले केही स्थानमा एक साता लामो निषेधाज्ञा जारी गरेको छ।

कञ्चनपुर सीडीओ गोपालकुमार भण्डारीले दुई स्थानमा निषेधाज्ञा जारी गरेका हुन्। संविधान चोक र त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

भीमदत्त नगरपालिका–४ स्थित संविधान चोक आसपासको क्षेत्रमा सालिक राख्न दिने/नदिनेबारे दलहरुबीच मतभिन्नता छ। त्यसैले सम्भावित झडप र संकट टार्न प्रशासनले यस्तो कदम चालेको हो।

प्रशासनले अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका लागि जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो।

यो अवधिमा ५ जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको सीडीओ भण्डारीले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट