प्रश्नपत्र दिन्छु भन्दै बोलाएर छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

रामेछाप — रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित नवदर्शन माविका शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन्। आफ्नै विद्यार्थीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको छ।
कक्षा ९ मा पढ्ने विद्यार्थीलाई २६ मंसिरमा उनले बलात्कार गर्ने प्रयास गरेको आरोप छ। ‘परिक्षाको प्रश्नपत्र दिन्छु’ भन्दै सार्कीले छात्रालाई घरमा बोलाएका थिए। त्यसपछि नजिकैको पुरानो खाली घरमा लगेर बलात्कार प्रयास गरेको जाहेरी परेपछि उनी पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी होमबहादुर पराजुलीका अनुसार बालिकाले आफूलाई शिक्षक सार्कीले प्रश्नपत्र दिने भनेर फकाएर आफ्नो घरनजिकै रहेको पुरानो घरमा लगेको र संवेदनशील अंग समाई बलात्कार गर्ने प्रयास गरेको आइतबार जाहेरी दिएकी थिइन्।
गाउँपालिकाले दिएको अनुदानबाट तलब भत्ता खाने सार्की कम्प्युटर शिक्षा पढाउने करारका शिक्षक हुन्। उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।