जसपा र जनमत पार्टीको द्वन्द्वले मधेशको शिक्षा र खेलकुद मन्त्रालय ‘कोमा’ मा

जनकपुर– दुई पार्टीको राजनीतिक द्वन्द्वको चपेटामा परेर मधेश प्रदेशका दुई मन्त्रालय अस्तब्यस्त भएका छन। दुवै मन्त्रालयका गतिविधि ‘कोमा’मा पुगेको कर्मचारीहरु नै वताउँछन्।

मुख्मन्त्री सरोजकुमार यादवले आफनो कुर्सी जोगाउन तत्कालिन बिना विभागीय मन्त्री सुरिताकुमारी साहलाई व्यवस्थापन गर्न शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्र्याएपछि यो समस्या सुरु भएको हो। त्यसवेला शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्र्याएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाईयो।

सत्तारुढ गठबन्धन दलको भागवण्डमा खेलकुद तथा समाज कल्याण मन्त्रालय जसपा र शिक्षा तथा संस्कृति मन्त्रालय जनमत पार्टीको भागमा प¥यो। खेलकुद तथा समाज कल्याण मन्त्रालयमा सुरिता र शिक्षा तथा संस्कृति मन्त्रालयमा महेशप्रसाद यादव मन्त्री छन्।

मन्त्रालय टुक्र्याए लगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दुवै मन्त्रालयको कार्यविभाजन पठायो। तर, झण्डै ४ महिना हुन लाग्दा दुवै मन्त्रालयको खातासमेत खुल्न सकेको छैन। दुवै मन्त्रालय दरबन्दीअनुसारका कर्मचारी र वजेट विहिन छन्।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयाँलले अहिलेसम्म एक सुको बजेट नआएको भन्दै गुनासो गरे। मन्त्रालयका सवै काम प्रभावित हुदा महिला बालबालिका तथा समाज कल्याणको क्षेत्रमा दातृ निकायबाट हुने काम पनि अन्यौलमा परेको मन्त्रालयका एक कर्मचारीले बताए।

यस्तै अवस्था रहे खेलकुद मन्त्रालयका अधिकांश कार्यक्रमको बजेट फ्रिज हुन सक्ने ति कर्मचारी वताउँछन्। राजनीतिक द्वन्द्वका कारण सिंगो प्रदेशका गतिविधि प्रभावित भएको उनीहरुको वुझाई छ।

मन्त्रालयमा व्यवस्थापन गरेको कार्पेट, कुर्सी, टेबुल, फर्निचर, पर्दा लगायतको सामान उधारो ल्याइएको सचिव फुयाँलले बताए। यतिमात्रै होईन, चिया समेत उधारोमा चलिरहेको उनको भनाई छ।

बजेटका लागि पटक–पटक ताकेता गर्दा केही दिनअघि अर्थ मन्त्रालयले २ करोड रुपैयाँ विनियोजन गरे पनि आर्थिक कारोबार गर्ने पीएलएमबीआईएस (प्रोभिन्सियल लाईन मिनिष्ट्री बजेट इन्फरमेसन सिस्टम) कोड उपलब्ध नगराउँदा सो रकम निकासा हुन नसकेको खेलकुद तथा समाज कल्याण मन्त्री साहले बताइन्।

मन्त्रालय स्रोतका अनुसार खेलकुद तथा समाज कल्याण मन्त्रालयमा आनुपर्ने महिला बालबालिका तथा समाज कल्याण महाशाखाका केही कर्मचारी अझै पनि शिक्षा तथा संस्कृति मन्त्रालयमै छन्। शिक्षा तथा सस्कृति मन्त्री महेशप्रसाद यादवले ती कर्मचारीहरूको रमाना नदिन सचिव लक्ष्मीप्रसाद भट्टराईलाई दबाब दिइरहेको स्रोतको दावी छ।

आफनो भागमा परेको मन्त्रालय टुक्र्याएपछि असन्तुष्ट भएका मन्त्री यादवले अहिलेसम्म खेलकुद तथा समाज कल्यण मन्त्रालयको भागमा परेका योजना तथा कार्यक्रमहरू हस्तान्तरण गर्न समेत ढिलाइ गरिरहेका छन्। खेलकुद तथा महिला बालबालिका, युवा तथा समाज कल्याणतर्फको बजेट पनि अर्थ मन्त्रालयले अहिलेसम्म खेलकुद तथा समाज कल्याण मन्त्रालयमा पठाएको छैन।

शिक्षा तथा सस्कृति मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले मन्त्रालय विभाजन र कार्यक्षेत्र विवादको कारण समस्या भएको स्विकारे। दुई मन्त्रालयबीच अधिकार क्षेत्रको विवाद हुनुको मुख्य कारण मन्त्रीका दलहरू जसपा र जनमतबीचको द्वन्द्व रहेको कर्मचारीहरूको भनाइ छ।

राजनीतिक द्वन्द्वले नै यस्तो परिस्थिति आएकोले यसको समाधान मुख्यमन्त्रीले गर्नुपर्ने उनीहरू बताउँछन्। गत वर्ष मंसिरको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र हैसियतमा जितेर जसपा प्रवेश गरेकी सुरितालाई मुख्यमन्त्री सरोज यादवले सुरुमा सामाजिक विकास मन्त्री बनाएका थिए। त्यसपछि कांग्रेसलाई सरकारमा सामेल गराउदाँ साह बिना विभागीय मन्त्री भएकी थिइन्। उनैलाई ब्यवस्थापन गर्न खोज्दा अहिले शिक्षा तथा खेलकुद क्षेत्र अस्तब्यस्त भएको स्रोतको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट