९ वर्षअघिको रिसइवीले बाँकेको बालसुधार गृहमा दुई समूहबीच झडप, भवन तोडफोड

काठमाडौं– ९ वर्षअघिको रिसइवीका कारण बाँकेको नौबस्ता बाल सुधार गृहमा दुई समुहबीच झडप भएको छ। नेपालगञ्जबाट ल्याइएको टोली र त्यहाँ रहेको टोलीबीच झडप हुँदा आइतबारदखि नै सुधार गृहमा तनाव छ।

बैजनाथ गाउँपालिका–३ स्थित सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार दुई समुहबीच तीन÷चार दिन अघि पनि झडप भएको थियो। त्यस बेला ४÷५ जना घाइते भएका थिए। त्यो झडप सेलाउन नपाउँदै पुनः झडप भएको हो।

९ वर्षअघिको रिसिइबीलाई लिएर दुई समूहबीच झडप भएको रानाले बताए। धेरै ठाउँबाट आएका बालकहरू मध्ये ९ वर्षअघि झगडा परेकाहरूको पनि भेट हुँदा झडपको अवस्था आएको उनको भनाई छ।

झडपपछि एक समूहले नेपालगञ्जबाट ल्याइएका समूहलाई अन्यत्र सार्न माग गरिरहेको प्रमुख रानाले बताए। उनीहरूले भवनमा सामान्य तोडफोड गरेका छन्। अहिले सुधारगृहको सुरक्षाका लागि सईको नेतृत्वमा २५ जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी खटिएका छन्।

सुधारगृहमा रहेका बालकहरूले त्यहाँको सुधार गृहको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई भित्र जान नदिएको र उनीहरू कम्पाउन्डमा आएर हो–हल्ला गरिरहेको डिएसपी नारायण डाँगीले वताए।

उक्त बाल सुधार गृह असोजदेखि मात्रै सञ्चालनमा आएको हो। सरकारले १८ वर्षभन्दा माथिकालाई राख्नका लागि बनाएको यस सुधार गृहमा अहिले ११६ जना बालबन्दी छन्।

बालसुधार गृहमा जयेन्दु बालसुधार गृहबाट ६९ जना, हेटौंडाबाट १८ जना, वीरगञ्जबाट १५ जना, भैरहवाबाट १४ जना ल्याइएका छन्। उनीहरू सबै १८ वर्षभन्दा माथिका हुन्। अधिकांश व्यक्तिहरू जबरजस्तीकरणी र लागुऔषध र कर्तव्य ज्यान मुद्दामा सजाय पाएकाहरू छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट