४५ वर्ष कैद माग गरिएको पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आज पेसी

काठमाडौँ– ज्युँदै मान्छेलाई इटाभट्टामा हालेर पोलेको आरोपमा मुद्दा खेपीरहेका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ।

०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला अदालत रौतहट आज पेसी तोकेको हो।

अदालतले गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई बहस नोट पेश गर्न आदेश दिएको थियो। सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेको छ।

१५ दिनको समय दिएर मागिएको वहस नोट प्राप्त भएकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो।

पूर्वमन्त्री आलम विरुद्ध ०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इटा भट्टामा हालेर जलाएको आरोप छ।

सो घटनामा प्रहरीले ०७६ सालमा पुनः अनुसन्धान गरेको थियो। उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो। यो मुद्दाको थुनछेक बहसपछि आलम २९ कात्तिक ०७६ देखि पुर्पक्षका लागि थुनामा छन्।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो।

यो मुद्दामा आलमसहित ११ जना प्रतिवादी छन्। अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट