‘श्रीमान’बाट अन्याय भएको भन्दै सर्वोच्च अदालतभित्रै न्यायाधीश पत्निले गरिन आत्मदाह प्रयास
काठमाडौं– नेपालको न्यायीक क्षेत्रमा गजवको संयोग देखिन थालेको छ। अरुलाई न्याय बाँड्ने न्यायाधीशकै पत्निले न्याय नपाएको भन्दै सर्वोच्च अदालत भित्रै आत्मदाह गर्नु पर्ने अवस्था आएको छ।
न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले आईतबार सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन्। सर्वोच्च परिसरमा पसेर उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन्। उनलाई तत्काल प्रहरीले उद्वार गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन्। भित्र पस्नासाथ उनले जर्किनबाट पेट्रोल खन्याएर आगो सल्काउन खोजेकी थिईन।
तर नजिकै रहेका प्रहरीले त्यसो गर्न दिएनन्। त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ। उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन्।
यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमानमाथि जुत्ता प्रहार गरेकी थिइन्। आरतीले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्। गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो। पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।