कोशी प्रदेशका मुख्यमन्त्रीलाई १ करोड ८ लाख ऋण, के छ ऋण तिर्ने स्रोत ?
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफनो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार उनीसँग हाल २५ तोला सुन र ८ लाख ब्यालेन्स छ।
मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा अस्वभाविक जग्गा जमिन देखिएको छ। बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीको त्यहाँ घर बाहेक तीन वटा घडेरी छन।
कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा देखाएका थिए। मुख्यमन्त्री भएपछि तीन ठाउँमा मात्रै जग्गा भएको विवरण पेस गरेका छन्। उनीसँग खेती योग्य जमिन र वडा नम्बर ७ मा एक बिघा दुई कट्ठा जग्गा छ।
मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमतीको नाममा छ। बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गासहितका घर पनि शान्तादेवीकै नाममा छ। उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको कार्कीले उल्लेख गरेका छन्।
उनकी श्रीमती शान्तादेवी कृषि विकास बैंकमा कार्यरत छिन्। कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी छ। मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख छ।
यस्तै विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर १ लाख ८७ हजारको छ। कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता शेयर रहेको उल्लेख छ।
कार्कीको १ करोड ८ लाख २ हजार ऋण छ। उनले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन्। श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर छ।