मदिरा खुवाएर खुल्ला चौरमै किशोरीको सामूहिक बलात्कार, उदयपुरका धिरजसहित ४ जना पक्राउ

काठमाडौँ– काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुरमा एक १९ वर्षीय किशोरीलाई मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको घट्नामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
२७ पुसको साँझमा भएको यो घट्नाामा संलग्न मध्ये उदयपुर ताप्ली गाउँपालिका –८ का धिरज हमाल, भोजपुर षडानन्द–८ का घनश्याम श्रेष्ठ र अन्य दुई जना १७ वर्षका बालक छन्। उनीहरू पाँचखाल आसपासमा ज्यामी काम गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित किशोरी आफ्नी साथीसँगै निस्केकी थिइन्। शिखरपुर जङ्गलमा पुगेपछि सँगै गएकी किशोरी ‘केटा साथी’ ले बोलाएको भन्दै छुटिन्। आफ्नो घरबाट करिब ५ किलोमिटर टाढा जङ्गलछेउमा पुगेकी किशोरी तत्काल एक्लै फर्किन सकिनन्।
साथीसँग छुट्टीँदा जङ्गलछेउको चउरमा ४ जना केटाहरु भेट भैसकेका थिए। उनीहरू चउरमा बसेर मदिरा पिउन थाले। किशोरीलाई पनि मदिरा खान आग्रह गरे। खान्न भन्दा उनीहरुले जबरजस्ती खुवाएको पीडितले अनुसन्धान अधिकृतलाई बताएकी छिन्।
मदिरा खुवाएपछि चउरमै दुई जनाले पालैपाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनीहरू किशोरीलाई घटनास्थलमा छोडेर भागेका थिए। जङ्गल छेउमा किशोरीलाई एक्लै देखेपछि एक जना गाडी चालकले पाँचखाल–७ का वडा अध्यक्षलाई खबर गरे । त्यसपछि उनलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय पाँचखाल लगिएको थियो।
किशोरीले आफू बलात्कृत भएको बताएसँगै इलाका प्रहरी कार्यालय पाँचखालका इन्स्पेक्टर राजाराम खतिवडा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। किशोरीले रुखमा सल बाँधेर आत्महत्याको प्रयास गरेको भेटिएको छ। रुखमा बाँधेको सल पनि प्रहरीले बरामद गरेको छ।
घटनामा संलग्न चारै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए। दुई जनाले बलात्कार गरेको र अरू दुई जनालाई मतियारको आरोपमा थुनामा राखेर अनुसन्धान भइरहेको उनले बताए।