वर्षाले रोक्यो जापानसँगको खेल, नेपाल समूह विजेता बन्दै एसियन गेम्सको क्वाटरफाइनलमा
काठमाडौँ— जापानसँगको खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुगेको छ। निसिनस्थित कोरोेगी स्पोट्र्स पार्कमा शनिबार भएको खेलमा वर्षाका कारण दोस्रो इनिङ नै सुरु हुन नसकेपछि खेल नतिजाविहीन टुंगिएको हो।
यससँगै समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोडेको नेपाल समूह विजेता बनेर अन्तिम आठमा पुगेको छ। वर्षाले खेलको सुरुवातदेखि नै प्रभाव पारेको थियो। निर्धारित समयमा खेल सुरु हुन नसकेपछि करिब एक घण्टा ढिलो गरी खेल सञ्चालनमा आएको थियो। समय कटौती गरिएपछि खेल १५ ओभरमा सीमित गरिएको थियो।
टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले छोटो खेलमा पनि आक्रामक प्रदर्शन गर्दै ४ विकेटको क्षतिमा १४९ रन बनायो। नेपालको स्कोर उकास्ने क्रममा सन्दीप जोराले ३२ बलमा ५७ रन बनाए। उनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो योगफलतर्फ अघि बढाए। अर्का ब्याटर लोकेश बमले अझ तीव्र गतिमा रन जोडे। उनले २२ बलमै ५२ रन बनाएर अविजित रहे। आसिफ शेखले २१ रनको योगदान दिए।
नेपालको १५ ओभरको इनिङमा जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले एक–एक विकेट लिए। नेपालको इनिङ सकिनै लाग्दा फेरि वर्षा सुरु भयो। मैदानमा पानी परेपछि पिचलाई कभरले छोपियो। मौसममा सुधार नआएपछि जापानले जवाफी ब्याटिङ सुरु गर्ने अवसर नै पाएन। अन्ततः खेललाई नतिजाविहीन घोषणा गरिएको हो।
यो नतिजासँगै नेपालले समूह ‘ए’मा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपालले एक खेलमा अफगानिस्तानलाई पराजित गरेर २ अंक जोडेको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि थप एक अंक पाएको हो। यसरी नेपालले २ खेलबाट ३ अंक पु¥याएको छ।
समूहमा अफगानिस्तानले २ खेलबाट २ अंक जोडेको छ। नेपाल ३ अंकसहित समूहको शीर्ष स्थानमा रहेकाले समूह विजेता बनेको हो। जापानसँगको खेलमा नतिजा नआए पनि नेपालको क्वाटरफाइनल यात्रामा त्यसले कुनै असर पारेन।
एसियन गेम्सको पुरुष क्रिकेटमा समूह ‘ए’ र ‘बी’बाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्ने प्रतियोगिता संरचना छ। त्यसबाहेक भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले वरीयताप्राप्त टोलीका रूपमा सिधै नकआउट चरणमा प्रवेश गर्ने व्यवस्था गरिएको छ।
अब समूह विजेताका रूपमा नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्नेछ। निर्धारित खेल तालिकाअनुसार समूह ‘ए’को विजेता र श्रीलंकाबीचको क्वाटरफाइनल असोज १३ गते अर्थात् सेप्टेम्बर २९ मा कोरोेगी स्पोट्र्स पार्कमै हुनेछ।
नेपालका लागि जापानविरुद्धको खेल जित वा हारभन्दा पनि प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्ने खेल बनेको थियो। अफगानिस्तानविरुद्धको जितबाट बनाएको आधार र जापानसँगको वर्षाले दिएको एक अंकले नेपाललाई समूहको शीर्ष स्थानमा पु¥याएको हो।
अब प्रतियोगिता समूह चरणबाट बाहिरिएर पदकको दौडतर्फ प्रवेश गरेको छ। नेपालसामु क्वाटरफाइनलमा श्रीलंकाजस्तो वरीयताप्राप्त टोलीको चुनौती हुनेछ। त्यस खेलको नतिजाले नेपाल एसियन गेम्सको पुरुष क्रिकेटमा पदकको दौडमा कति अघि बढ्छ भन्ने तय गर्नेछ।

