पञ्चायतको अराजकता : बाख्रा चोरीको आरोपमा कुटपिट, जुत्ताको माला लगाएर थालभाँडा बजाउँदै गाउँ परिक्रमा

राजविराज– सप्तरीको राजविराजमा बाख्रा चोरीको आरोप लागेका स्थानीय एक व्यक्तिमाथि गाउँमै ‘सजाय’ सुनाउँदै कुटपिट र जुत्ताको माला लगाएर सार्वजनिक रूपमा घुमाईएको घट्नाले अहिले सामाजिक सञ्जाल तताएको छ।

उक्त घट्नामा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। राजविराज नगरपालिका–१३ मा भएको घटनामा स्थानीयले कानुनी निकायको प्रक्रिया अघि बढाउनुको सट्टा आफैंले विवादको फैसला गर्दै आरोपितलाई सार्वजनिक रुपमा अमानित गरेका थिए।

घट्नामा संलग्न भएको आरोपमा राजविराज–१३ का ४२ वर्षीय ललित राम, ३५ वर्षीय लड्डु राम र रामनाथ रामलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरूमाथि कानुन हातमा लिएर आरोपित व्यक्तिमाथि अमानवीय व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।

घटनाको सुरुवात गत साउन ८ गते राति रामनाथ रामको बाख्रा हराएपछि भएको विवादबाट भएको प्रहरीले जनाएको छ। बाख्रा हराएको विषयमा विवाद बढेपछि त्यसको टुंगो लगाउन भोलिपल्ट बिहान स्थानीय भगवती मन्दिरको प्राङ्गणमा गाउँलेहरू भेला भएर पञ्चायत बसेका थिए।

पञ्चायतमा छलफल भइरहेकै बेला विवाद समाधान हुन नसकेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। त्यस क्रममा बाख्रा चोरी गरेको आरोप लागेका व्यक्तिमाथि कुटपिट गरिएको र उनको घाँटीमा जुत्ताको माला लगाएर थालभाँडा बजाउँदै गाउँ घुमाइएको थियो। उक्त घट्नाको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

बाख्रा चोरी गरेको आरोप आफैंमा अपराधको निष्कर्ष नभए पनि गाउँलेहरूले त्यसको अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी प्रहरी तथा सम्बन्धित निकायलाई दिनुको सट्टा सार्वजनिक रूपमा सजाय दिने प्रयास गरेको देखिएको छ।

यही घटनालाई लिएर प्रहरीमा परेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकाहरूविरुद्ध आरोपित व्यक्तिमाथि कानुनविपरीत कुटपिट तथा अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले गाउँमा विवाद समाधान गर्ने नाममा अझै पनि अनौपचारिक ‘पञ्चायत’मार्फत व्यक्तिमाथि कारबाही गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ।

कुनै व्यक्तिमाथि चोरी वा अन्य अपराधको आरोप लागेमा त्यसको अनुसन्धान गर्ने, दोष प्रमाणित गर्ने र सजाय तोक्ने अधिकार राज्यका कानुनी निकाय र अदालतसँग हुन्छ। तर यहाँ आरोपको सत्यता परीक्षण हुनुअघि नै गाउँलेहरूको भेलाले आरोपित व्यक्तिमाथि कुटपिटदेखि सार्वजनिक अपमानसम्मको व्यवहार गरेको आरोप लागेको छ।

प्रहरीको पक्राउसँगै अब घटनामा कसको के भूमिका थियो र आरोपितमाथि गरिएको व्यवहार कुन हदसम्म कानुनविपरीत थियो भन्ने विषय अनुसन्धानबाट खुल्नेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट