कलियुगकी ‘देवी’: जसले प्रहरी अधिकृतलाई नै मायाँजालमा पारेर १७ लाख लुटिन

काठमाडौं– प्रहरी अधिकृतलाई नै ‘हनी ट्रयाप’मा पारेर १७ लाख रुपैयाँ ठगी गर्ने ओखलढुङ्गाको सुनकोशी गाउँपालिका १ बलखुकी देवी थापालाई अदालतले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने सजाय सुनाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले हनी ट्रयापको कसुरमा थुनामै रहेकी थापा र अर्का आरोपी सुदर्शन सापकोटालाई दोषी ठहर्याएको छ। अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न थापालाई ६ महिना कैद र ५ हजार जरिवाना सुनाएको सूचना अधिकारी सिपी पन्थीले वताए।

थापाबाट पीडितलाई ७ लाख बिगो पनि भराउने फैसला भएको छ। अर्का प्रतिवादी सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई २ लाख बिगो भराउने फैसला भएको पन्थीले वताए।

६ मंसिर ०७८ मा दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो। थापालाई यसअघि अदालतले ३ लाख ५० हजार धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो।

तर, अन्य मुद्दामा दोषी ठहर भएपछि उनी धरौटी बुझाएर पनि जेलमै थिइन्। एक नेपाल प्रहरीका सईलाई हनी ट्रयापमा पारी १७ लाख रकम असुल गरेपछि थापा र सुदर्शन सापकोटाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।

जाहेरीपछि थापा ९ कात्तिक ०७८ मा नक्सालबाट पक्राउ परेकी थिइन्। थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ लिएकी थिइन् ।

रकम लिई फिर्ता माग्दा थापाले दिपेन्द्र थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन्। सो मुद्दामा दीपेन्द्र थापाले सफाइ पाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट