घरयसी झगडामा ५ तलाबाट हामफालेका व्यवसायीको मृत्यु
धनगढी– घरायसी विवादका कारण धनगढीका एक व्यवसायीले आफ्नै घरको पाँच तलाबाट हामफालेर ज्यान फालेका छन्।
धनगढी–उपमहानगरपालिका–४ बसपार्कको छेउमा घरको पाँच तलाबाट हाम फालेका ५३ बर्षीय सन्तोष अग्रवालको मृत्यु भएको हो।
प्रहरीका अनुसार बुधवार बिहान साढे ११ बजे उनी घरको छतबाट हामफालेका थिए। भुइँमा बजारिएर घाइते भएका उनलाई उपचारका लागि धनगढीकै नवजीवन अस्पतालमा लगिएको थियो।
त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
स्थानीयले घरायसी विवादका कारण व्यवसायी अग्रवालले आत्महत्या गर्ने सोचले छतबाट हामफालेको बताएका छन्। प्रहरीले भने उनले के कारणले हामफाले भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
अग्रवाल लामोसमयदेखि धनगढीमा कस्मेटीक सामानको होलसेल ब्यापार गर्दै आएका थिए। अहिले बसपार्क छेउमा उनले पछिल्लो समय आफ्नै पाँच तले घर बनाएर तल्लो भुइँ सटरमा ब्यवसाय सञ्चालन गर्दै आएका थिए।